महावीर पुनले आविष्कार केन्द्रका लागि आफ्नै जग्गा किनिदिन दाेस्राे पटक गरे आह्वान  

पोखरा । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नै नाममा भएको जग्गा किनिदिन दोस्रो पटक आह्वान गरेका छन् । सामाजिक सञ्जालमा जग्गाको गुगल म्यापसमेत राखेर जग्गा खरिदका लागि इच्छुकसँग अनुरोध गरेका हुन् ।

गण्डकी सरकारले दिने भनेको १० करोड रुपैयाँ निकासा नभएपछि पुनले जग्गा बेच्न लागेका हुन् । केही दिनअघि उनले फेसबुकमा नै सूचना हालेका थिए । जग्गा खरिदका लागि कसैले चासो नदिएपछि पुनः आह्वान गरेका हुन् ।

`मैले ६ दिन अगाडी दिएको तलको सूचना कसैले हेर्नु भएको छैन भने हेर्नु होला । आविष्कार केन्द्रको लागी आफ्नो नामको जग्गा बेच्न खोजेको हो,´ उनले भने, `यो तलको २८ रोपनी जग्गा बेचेर आएको पैसा तुरुन्तै वीरगन्जको कृषि औजार कारखानामा र यो बर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरुमा प्रयोग हुनेछ । यो जग्गा पोखरा नजिकै ठुलाकोट भन्ने ठाउँमा छ ।´ आफूले जुनसुकै हालतमा जग्गा बेच्ने भएकोले नबेच्नका लागि सुझाव नदिन पनि उनको आग्रह छ ।

`जसरी भए पनि नबेची नछाड्ने हो । कसैले नबेच्नु भनेर नभन्नु होला,´ उनी अघि भन्छन्, `यो जग्गा मेरो नाममा छ तर पाँच वर्षअघि नै मैले राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको हो । ´

त्यहाँ प्रति रोपनी ३० लाख देखि ५० लाख हाराहारी पर्ने उनले जनाएका छन् । पुनले आफ्नो सूचनालाई हचुवा नठान्न सचेत गराएका छन् ।

`यो कुरा एकदमै गम्भीर हो । कसैले पनि होच्याएर र हावा कुरा गरेर खिल्ली नउडाउनु होला र ख्याल ठट्टा नगर्नु होला,´ पुनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *