सेनाको ‘एक्सन’मा सर्वोच्चको अंकुश, दुई कर्णेललाई उपस्थित गराउन आदेश

काठमाण्डौँ। नेपाली सेनाको अर्को निर्णयमा पनि सर्वोच्च अदालतले जवाफ माग गरेको छ। केहीदिनदेखि थुनामा रहेका दुई कर्णेललाई थुनामा राख्नुको कारण माग गर्दै तीनदिन भित्रमा सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको हो।

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सहयोग गरेको अभियोगमा प्रमुख सेनानी कुलदिप तिमसिना र महासेनानी महेन्द्रजंग शाहलाई पक्राउ गरेर सेनाले कारबाही अगाडी बढाएको छ।प्रेम शाही आर्थिक अनियमितताको आरोपमा थुनामा छन्। सोही अनियमितताको आरोपमा अन्य दुई जना अधिकारीमाथी पनि कारबाही अगाडी बढाएको हो।

सैनिक प्रहरीको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाएपछि उनीहरुले सर्वोच्चमा बन्दीप्रत्येक्षीकरणको रिट दायर गरेका थिए। न्यायाधीश हरि फुयालको एकल इजलासले उनीहरुलाई थुनामा राख्नुको कारण माग गर्दै तीनदिन भित्रमा सर्वोच्चमा उपस्थित गराउने समेत आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम किन आदेश जारी हुन नपर्ने हो? कारणसहित म्याद सूचना प्राप्त भएको मितिले ३ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्नु।’

यसअघि सेनाले प्रेम शाहीमाथी छानविन गर्न समिति बनाएको थियो। समितिको प्रतिवेदनका आधारमा उनीहरु पनि संलग्न देखिएकाले सैनिक अदालतले कारबाही गर्ने तयारी गरेको छ।

यसका लागि सिनियर उपरथीको नेतृत्वमा कोर्ट मार्सल गठन भइसकेको छ। अवकासको पत्र बुझेर १५ दिन अघि नै बिदामा बसेका शाही सर्वोच्चको आदेश लिएर गत पुस १९ गते जंगी अड्डा फर्किएका थिए।

उपरथी शाहीको चारित्रिक प्रमाण पत्र र अन्य प्रमाण पत्रमा उमेर फरक उल्लेख भएपछि विवाद सुरु भएको थियो। चारित्रिक प्रमाण पत्रमा जन्म मिति २०२२ पुस २० उल्लेख छ। तर अन्य प्रमाण पत्र र नागरिकतामा २०२३ पुस २२ उल्लेख छ।

अघिल्लो उमेरका आधारमा सेनाले उपरथी शाहीलाई अवकासको पत्र थमाएको थियो। तर त्यसविरुद्ध शाहीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले उनको नागरिकता र अन्य प्रमाण पत्रमा उल्लेख एक वर्ष पछिको जन्म मितिलाई मान्यता दिँदै सेवामा फर्कने बाटो खोलिदिएको थियो। आफ्नो निर्णयविरुद्ध सर्वोच्च पुगेर फर्किएपछि सेनाले पनि कारबाही सुरु गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =