माओवादीसँग मुख्यमन्त्री अधिकारीको आग्रह- केन्द्रमा जे भएपनि गण्डकीमा मिलेर जाऔँ

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्रको समीकरण फरक भएपनि गण्डकीमा पूरानै समीकरणलाई निरन्तरता दिन माओवादीसँग आग्रह गरेका छन् । मंगलबार दलका नेता हरिबहादुर चुमानलाई भेटेर उनले प्रदेशमा पूरानै समीकरणको निरन्तरता गर्न आग्रह गरेका हुन् ।

‘केन्द्रमा जे भएपनि प्रदेशमा आफै निर्णय गरौँ । यहाँ एमाले र माओवादी मिलेर नै अघि बढौँ,’ अधिकारीले भने, ‘प्रदेशमा महिनैपिच्छे सरकार फेर्दा जनतामा निराशा बढ्छ । संरचनाप्रति आक्रोश बढ्छ ।’ तर माओवादी उनको प्रस्तावमा सकारात्मक छैन ।

सरकार गठनका बेला एमालेले माओवादीलाई पेलेर एकल निर्णय गरेको माओवादीभित्रको बुझाई छ । दलका नेता चुमान केन्द्रको निर्णय प्राप्त नभएको बताउँछन् । ‘माथि फेरिएको छ । हामीलाई पनि नयाँ समीकरणले फेरबदल गराउँछ,’ उनले भने, ‘तर अहिले पार्टीबाट कुनै निर्देशन आएको छैन । अर्को निर्णय नहुँदासम्म यही समीकरणमा चल्छौँ ।’

केन्द्रमा एमालेले माओवादीको साथ छोडेपछि प्रदेशमा माओवादीले एमालेको साथ छोड्ने चर्चा धेरै छ । यदि माओवादी सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिए कांग्रेस नेतृत्वमा सरकार गठन हुन्छ । यसअघि संविधानको धारा १६८ (२) अनुसार एमाले, माओवादी र राप्रपाको मतबाट अधिकारी मुख्यमन्त्री बनेका हुन् । (२) अनुसारको सरकार ढले उपधारा (३) लागू हुन्छ । जसबाट संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दलको संसदीय दलका नेता मुख्यमन्त्री नियुक्त हुन्छन् ।

यहाँ २७ सिट सहित कांग्रेस पहिलो दल हो । एमालेको २२, माओवादीको ८ र राप्रपाको २ तथा एकीकृत समाजवादीको १ सिट छ । एमाले-माओवादी-राप्रपा समीकरणमा सत्तासँग ३२ सिट थियो भने कांग्रेस-माओवादी समीकरणमा ३५ सिट पुग्छ । त्यसमाथि एकीकृत समाजवादी पनि ८ दलीय गठबन्धनमा रहेका कारण गण्डकीको नयाँ सत्तासँग ३६ सिट पुग्छ । केन्द्रीय समीकरण फेरिएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेतृत्वसँग सल्लाह गर्न काठमाडौँ पुगेका छन् ।

अधिकारी नेतृत्व सरकारमा एमालेले ४ मन्त्रालय र माओवादीले २ तथा राप्रपाले १ मन्त्रालय पाएको थियो । तत्कालीन समयमा माओवादीले कम्तीमा ३ मन्त्रालयमा दाबी गरेको थियो । तर अधिकारीले रोकेको आरोप माओवादीले लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *