विराटनगरमा नेट र केवलको तार व्यवस्थापन तीव्र 

विराटनगर । विराटनगरको सौन्दर्यीकरणमा ह्रास आउने गरी जथाभाबी लत्रिएका केवल र नेटको तार व्यवस्थापनलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत लत्रिएका तारको व्यवस्थापनलाई तीव्रता दिइएको हो ।

महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरू आफै तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गते विराटनगरस्थित हिमालय रोडबाट औपचारिक रूपमा तार व्यवस्थापन सुरु गरिएको थियो । तार व्यवस्थापनका लागि मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक छलफल गरेको थियो ।

विभिन्न चरणका बैठकको निर्णयअनुसार सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । ‘हामी कर्मचारीले नेतृत्वको योजना र निर्देशन कार्यान्वयन गर्ने हो,’ प्रमुख प्रशासकीय अधिकृत कोइरालाले भने, ‘सरसफाइ, पार्किङ र तार व्यवस्थापनसँगै कानुन विपरीत निर्माण गरिएका संरचना हटाइरहेका छौँ ।’

म्याक्स, सुविसु, वल्र्डलिंक, भाइनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने गरी कामलाई तीव्रता दिएको कोइरालाले बताए । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर नागेश कोइरालाले बताउँदै आएका छन् ।

महानगरको अभियानमा साथ दिन विराटनगरवासीलाई मेयर कोइरालाले आग्रहसमेत गरे । महानगरले उज्यालो महानगर अभियान पनि सञ्चालन गरिरहेको छ । जसअन्तर्गत सडकबत्ती जडानसमेत धमाधम भइरहेको छ । आन्तरिक आयलाई बलियो बनाउन महानगरले कर संकलनलाई पनि तीव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *