प्रदेश सरकारले विनियोजित बजेट पनि नदिएपछि जग्गा बेच्दै महावीर पुन

पोखरा । गण्डकी प्रदेश सरकारले आविष्कार केन्द्रसँग मिलेर नवप्रवर्तनका कार्यक्रम गर्ने गरी वार्षिक विकास कार्यक्रम पुस्तिकामा नै १० करोड रुपैयाँकाे बजेट विनियोजन गरेको छ । गण्डकी विश्वविद्यालयले कृषि औजार उत्पादन गर्न थालिसकेको छ । त्यसमा आविष्कार केन्द्रले सहकार्य गरेको छ । केन्द्रलाई सरकारले दिने भनेको १० करोड रुपैयाँ नदिएपछि केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नै नाममा रहेको जग्गा बिक्री गर्ने प्रक्रिया थालेका छन् ।

प्रदेशमा आइसिटी इनोभेसन सेन्टर निर्माणका लागि जग्गा बेचेर रकमको जोहो गर्न लागेका हुन् । यसका लागि सिम्पानीमा काम अघि बढिसकेको छ । पुनले पोखरामा आफ्नै नाममा रहेको २८ रोपनी जग्गा बेच्न लागेका हुन् । ‘सरकारको प्रक्रिया झण्झटिलो भयो । सचिवले काम गर्न नसक्ने रहेछन् । मन्त्री हेरफेर भइरहँदा काम गर्न गाह्रो पर्यो,’ उनले भने, ‘अहिले पनि सरकार तलमाथि हुने संकेत छ । ८ महिनासम्म बजेट निकासा नभएपछि ४ महिनामा कसरी काम सकेर फर्स्यौट गर्ने ?’

केन्द्रले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टमको काम समेत सुरु गरेको छ । सबै काम गर्न प्रदेशको अनुदानको आस गरेको केन्द्रले विनियोजित बजेट समेत निकासा नपाएपछि केन्द्रकै लागि दान दिएको जग्गा बिक्री गर्न लागिएको पुनले बताए । ‘यो जग्गा यस्तै कामका लागि चाहिँदा बेच्ने भनेर दिएको हो । पहिले पनि बेच्न प्रयास गरेको थिएँ । सरकारले पैसा दिने भनेपछि रोकिएको हो,’ उनी भन्छन्, ‘अहिले समस्या पर्यो । बेच्नैपर्ने भयो ।’ कामको प्रक्रिया अघि बढिसकेकोले रोकिने अवस्था नभएको उनको भनाई छ ।

गण्डकी सरकारले भने विनियोजित बजेट निकासा हुने प्रतिक्रिया दिएको छ । तर प्रस्तावहरूमाथि छलफल भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तोयनाथ लम्सालले बताए । ‘प्रस्ताव पाएका छौँ । छलफल भइरहेको छ । निकासाको लागि टुंगिसकेको छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *