पोखराको हरित सडक बनाउन कोरियाले सहयोग गर्ने, पहिलो चरणमा १५ करोड डलर विनियोजन

पोखरा । पोखराको हरित सडक निर्माणका लागि कोरिया सरकारले सहयोग गर्ने भएको छ । पोखरामा भएको एक कार्यक्रमकाबीच पोखरा महानगरपालिका र कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच काम गर्ने सम्झौता भएको छ । योसँगै पोखराको यातायात व्यवस्था अब प्रविधिमैत्री हुनेछ भने सडकहरूमा हरियाली प्रवर्द्धन गरिने छ ।

कोरियाले विभिन्न चरणमा काम गर्ने जनाएको छ । पहिलो चरणमा विभिन्न साझेदार संस्थाहरूको समन्वयमा १५ लाख अमेरिकी डलर खर्च गर्ने जनाएको छ । हरित सडक बनाउनका लागि कोरियाली टोलीले स्थलगत अध्ययन समेत गरिसकेको छ । परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटका १ हजार २ सय ८६ ठाउँमा बस स्टप निर्माण गरिनेछ ।

यस्तै ३ ठाउँमा बस टर्मिनल निर्माण गरिने परियोजना प्रबन्धक जियोन ह्युन किमले बताए । यही परियोजनाले पृथ्वीचोकलाई थप विस्तार गर्ने छ । दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा प्रयोग गरिने किमले बताए ।

परियोजना सकिँदासम्म पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारेमा हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । लामो समय कुनै स्टेसनमा गाडी कुरेर बस्नुपर्दैन ।

चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्बन उत्सर्जनमा न्यूनीकरण गर्नका लागि र स्वच्छ वातावरणको प्रवर्द्धन गर्न यो परियोजना उत्तम हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *