सानेपामा कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेरअघि बैठक शुरु भएको हो ।
राष्ट्रपतिको उम्मेदवारसँगै समसामयिक राजनीतिक विषयमा छलफल भइरहेका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई बोलाइएको छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम चर्चामा छ ।
तर, पौडेलको पक्षमा निर्णय गरिने नेताहरूको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो।
बालुवाटारको बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । यही २५ फागुनमा हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ताको काम हुँदैछ ।








