एमाले सरकारबाट बाहिरिए गण्डकीमा कांग्रेस-माओवादीको सुविधाजनक बहुमत

पोखरा । नेकपा एमाले सरकारबाट बाहिरिने संकेत देखिएको छ । केन्द्रजस्तै प्रदेशमा पनि त्यसको असर पर्छ । गण्डकीमा एमाले-माओवादी–राप्रपा गठबन्धनबाट कमजोर बहुमतको सरकार बनेको छ । ६० सदस्यीय प्रदेशसभामा एमाले २२, माओवादी ८ र राप्रपा २ सांसद छन् । पहिलो दल कांग्रेससँग मात्रै २७ सिट छ ।

३२ जनाको सामान्य बहुमतबाट बनेको सरकारबाट एमाले बाहिरिए कांग्रेसको नेतृत्वमा संविधानको धारा १६८ उपधारा (३) अनुसार सरकार बन्छ । उपधारा २ अनुसारको सरकारले विश्वास प्राप्त गर्न नसके संसद्मा उपस्थित दलमध्ये सबैभन्दा ठूलो दलको संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

यहाँ कांग्रेसले सुरेन्द्रराज पाण्डेलाई दलको नेता चयन गरेको छ । कांग्रेसको २७ र माओवादीको ८ सिट हिसाब गर्दा ३५ सिट सत्तामा पुग्छ । यो सुविधाजनक बहुमत हो । एकीकृत समाजवादी समेत गठबन्धनमा रहने अवस्था छ । मनाङबाट स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

उनको समेत समर्थन भए ३६ सिट पुग्छ । तर त्यसका लागि केन्द्रको समीकरणमा भर पर्छ । अहिले गण्डकीमा एमाले नेतृत्वमा उपधारा (२) अनुसारको सरकार छ । एमालेबाट मुख्यमन्त्री सहित ४ मन्त्री र माओवादीको २ तथा राप्रपाको १ मन्त्री छन् । राप्रपाले पनि पछिल्लो गठबन्धनबारे कुनै निर्णय लिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *