अब क्यान्सरको उपचार पोखराबाटै

पोखरा । २०५० सालदेखि रोकिएको क्यान्सर उपचार अब पोखराबाटै हुने भएको छ । २०५० सालमा युकेका डा. ब्रुस रिचार्डको टोलीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा क्यान्सरको शल्यक्रिया गर्ने गरेको थियो ।

उनीहरूले नेपाल छोडेपछि बन्द रहेको शल्यक्रिया फेरि सुरु भएको छ । अस्पतालले केही समयअघि माइक्रोस्कोप भित्र्याएपछि अपरेसन गर्न लागिएको हो । १ वर्ष अघि अनुहारको सर्जरी सुरु भएकोमा ६ महिनाअघि प्लास्टिक सर्जरीको सुविधा आयो ।

अहिले मुखभित्रको क्यान्सरको शल्यक्रिया गर्न थालिएको निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए । पर्वतका ५४ वर्षीय पुरुषको मुखभित्रको क्यान्सरको सफल शल्यक्रिया गरिएको खत्रीले बताए । प्लास्टिक सर्जन डा. पीयूष गिरी सहितको टोली र म्याग्जीलोफेसियल सर्जन डा. नारायण शर्मा लामिछानेसहितको दन्त चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेका हुन् ।

माघ २९ मा उनको तेस्रो स्टेजको क्यान्सर शल्यक्रिया विधिबाट हटाएर बिरामीकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको थियो । खत्रीका अनुसार उनी फागुन ७ गते डिस्चार्ज भएर घर गइसकेका छन् । मुखभित्र घाउ भएको ठाउँ शल्यक्रिया गरी फालेर उनकै बायाँ हातको मासु प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सकको टोलीले लगातार १० घण्टा लगाएर शल्यक्रिया गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *