‘पोखराको आकाश सुरक्षित छ, चल्न नदिन भ्रम फैलाइयो’

पोखरा । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा प्रवेश गर्नुअघि देखि नै पोखरा विमानस्थलबारे धेरै तर्क/वितर्कहरू सुरु भएका हुन् । कतिपयले काठमाडौँबाट नजिकको दुरीमा भएका कारण पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक नभएको बताए भने कतिपयले पोखरा उपत्यकाको भूगोललाई लिएर प्रश्न उठाए ।

त्यस्तै प्रश्न अहिलेसम्म पनि निरन्तर आइरहेको छ । अहिले अर्को प्रश्न थपिएको छ, विमानस्थल सञ्चालनको चुनौतीसँगै हवाई सुरक्षा । निरन्तर जसो पोखरा अवतरण र उडानका क्रममा जहाजसँग चरा ठोकिन्छन् । माघ १ गते यती एयरलाइन्सको एटीआर विमान दुर्घटनापछि धेरैले पोखरा फ्लाइट असुरक्षित भन्दै प्रचार गरेका छन् । अधिकांश अहिले जहाज छोडेर गाडीबाट यात्रा गर्न थालेका छन् ।

विमानस्थलबारे चौतर्फी प्रहार हुन थालेपछि नागरिक उड्डयन प्राधिकरण र पोखरा महानगरपालिकाले संयुक्त पत्रकार सम्मेलन गरी पोखरा विरुद्ध गलत प्रचार भइरहेकोले सचेत रहन सबैलाई आग्रह गरे । पोखराका मेयर धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संघ सरकार सकारात्मक हुन नसकेको बताए ।

‘समग्रमा पोखरा सबै हिसाबले तयार छ । केन्द्र सरकारलाई पनि पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सकारात्मक दबाब सृजना गर्नु प¥यो,’ उनले भने, ‘यसका लागि मिडियाको पनि तागत हुन्छ । सबैले पहल गरौँ ।’ आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै उनले अन्तर्राष्ट्रिय उडानमा पनि शंका गर्नुपर्ने ठाउँ नरहेको बताए । ‘कुनै एउटा घटनाले मात्रै सुरक्षामा प्रश्न उठाउँदैन । हामी सचेत हुनुपर्छ तर निराश हुने होइन,’ उनले भने ।

विमानस्थल प्रमुख विक्रम गौतमले पोखरालाई चलायमान बनाउन आफूहरू निरन्तर लागिरहेको सुनाए । ‘कसरी सुरक्षित बनाउने भन्ने कुरा सबैको चासोको विषय हो । उड्डयन क्षेत्रको प्रभाव एक ठाउँमा मात्रै सीमित हुँदैन,’ उनले भने, ‘यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्दछ । यहाँको आकाश सुरक्षित छ । कुनै शंका नपाल्न म आग्रह गर्छु ।’ संसार भरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भन्दै उनले पोखरामा पनि त्यो सामान्य भएको तर्क गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पोखराको विकास नचाहनेहरूले भ्रम फैलाएको बताए । ‘नेपालको आकाश असुरक्षित होइन । हामी यसमा जोड दियौं भने पोखराको एयरपोर्ट चल्न दिँदैनन् । धेरै भ्रम फैलाइएको छ । यसको निकासका लागि हामी एकजुट हुनै पर्छ,’ मुल्मीले भने । नेपालका लागि थप हवाई मार्ग दिनका लागि छिमेकी मुलुकले गरेको कन्जुस्याइँ अनौठो भएको भन्दै उनले सरकारको ध्यान त्यसमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *