पोखरा विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि खुला

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि खुला भएको छ । बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै उडान हुँदै आएको पोखरामा अब आवश्यकता अनुसार जुनसुकै बेला जहाज उड्न सक्छन् ।

अहिले सेवा थपेर १८ घण्टा उडानको व्यवस्था मिलाइएको र आवश्यकता परे चौबिसै घण्टा सेवा विस्तार गर्न सकिने विमानस्थल प्रमुख विक्रम गौतमले जानकारी दिए । अब बिहान ६ बजेदेखि राती १२ बजेसम्म जहाज उड्ने छन् । विमानस्थलको तर्फबाट सबै इक्युपमेण्ट जडान गरेर उडानका लागि तयारी अवस्थामा रहेको भन्दै उनले जहाज कम्पनीहरूले तालिका भने अहिलेसम्म नदिएको बताए ।

राती उडानका लागि आवश्यक पर्ने इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली पोखरा विमानस्थलमा जडान गरिएको छ । यसअघि भिजुअल फ्लाइट रुल्स (भिएफआर) बाट मात्रै उडान र अवतरण हुने गरेको थियो । भिएफआरमा पाइलटले आँखाले हेरेर उडान अवतरण गर्नुपर्छ भने आइएफआरमा सिस्टमका आधारमा उडान हुने छ ।

नयाँ प्रणाली जडानसँगै बुद्ध एयरले पोखरामा रात्रिकालीन उडानको तयारी गरेको छ । फागुन २५ देखि काठमाडौँ-पोखरा रुटमा राती ८ बजे जहाज उडाउने बुद्धले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *