कलात्मक ढङ्गले यसरी हुँदैछ बागलुङ कालिकाको जीर्णोद्धार (तस्बिरहरू)

बागलुङ । बागलुङको धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय गन्तव्यका रूपमा परिचित कालिका मन्दिरको कलात्मक ढङ्गले जीर्णोद्धार सुरु गरिएको छ । मन्दिरको छाना ताम्रपत्रले छाइएको र कलात्मक इँटाहरूको प्रयोग गरी मन्दिरलाई थप आकर्षक बनाइने छ ।

धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रूपान्तरण गर्न रणनीतिक योजना बनाएको थियो । सोही योजना अन्तर्गत अहिले मन्दिर क्षेत्रमा रहेका अन्य संरचना, सत्तल, हवन कुण्डलगायत पनि पुरानै शैलीमा निर्माणाधीन छन् ।

दुई महिना लगाएर छानाको ताम्रपत्र मर्मतलगायतको काम सकिएको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मक इँटाको प्रयोग गरी जीर्णोद्धार हुँदैछ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरूपलाई कलात्मक बनाइने र आगामी दिनमा अन्य संरचना पनि पुरातात्त्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

खड्काका अनुसार मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जीर्णोद्धारसँगै मर्मत सम्भार पनि गरिएको हो । मन्दिरको जीर्णोद्धार गर्न २६ लाख, सत्तल निर्माणमा ७० लाख र हवनकुण्ड निर्माणमा १३ लाख रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *