बैंकको ‘टर्चर’मा व्यवसायी, कास्की कांग्रेस ऋणीका मागपत्र लिएर काठमाडौँ जाने 

पोखरा । बैंक तथा वित्तीय संस्थाहरूले ‘टर्चर’ दिएको भन्दै पोखरेली उद्योगी व्यवसायीहरू आन्दोलित छन् । उनीहरूको मागमा कास्की कांग्रेसले पनि साथ दिएको छ । कांग्रेसले व्यवसायीहरूलाई बोलाएर माग संकलन गरेको हो ।

व्यवसायीहरूले चर्को ब्याजदर घटाउनुपर्ने आवाज निरन्तर उठाइरहेका छन् । उनीहरूको आवाजमा कांग्रेसले ऐक्यबद्धता जनाएको र माग सम्बोधनका लागि प्रदेशदेखि केन्द्रसम्म पुग्ने सभापति किशोरदत्त बरालले बताए । बरालका अनुसार प्रधानमन्त्री, अर्थ मन्त्री, नेपाल राष्ट्र बैंक वा पार्टीको जिम्मेवारीमा रहेका नेताहरूलाई कांग्रेसले ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

बैंकबाट ऋण लिएका व्यवसायीहरुमाथि बैकले महिनै पिच्छे चर्को ब्याज लगाउने र निरन्तर धितो लिलामीको धम्की दिन थालेपछि व्यवसायीहरू चिन्तित भएका हुन् । अहिले बैंकका कर्मचारीहरू नै ऋणीका घरमा पुगेर टर्चर दिने गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले बताए । ‘व्यवसायीलाई मात्रै होइन, घरका परिवारलाई समेत टर्चर दिएका छन्,’ उनले भने, ‘यो क्रम रोकिएन भने ‘चोरी’ को आरोपमा कर्मचारीहरुलाई उजुरी दिन्छौँ ।

कांग्रेसले दुई पटकसम्म ऋणी र व्यवसायीसँग छलफल गरेको छ । पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँग आबद्ध व्यवसायीहरू छलफलमा सहभागी थिए । व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज विरुद्ध संघर्षको कार्यक्रम अघि सारेको छ । संघर्ष समिति पनि गठन भएको छ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिको अध्यक्षतामा बनेको समितिको सह संयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय छन् ।

समितिमा विभिन्न व्यवसायी निकट संघ संस्थाहरू सदस्य छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बैंकर र नेपाल राष्ट्र बैकबीचको कार्टेलिङ र सिण्डिकेट अन्त्य गर्न नसक्दा यो समस्या निरन्तर झेल्नुपरेको बताए । राष्ट्र बैंकको सञ्चालक समितिमा पूर्व कर्मचारी र बहालवाला कर्मचारीको मात्रै वर्चस्व हुने भएकोले व्यवसायीमैत्री हुन नसकेको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *