डेढ महिनापछि बन्यो गण्डकीको कार्यव्यवस्था समिति, अझै गठन भएनन् ‘मिनी पार्लियमेण्ट’

पोखरा । सभामुख चयन भएको करिब डेढ महिनापछि बल्ल कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । सभामुखको ‘क्याबिनेट’ का रूपमा रहेको उक्त समितिले हरेक संसद् बैठकको कार्यसूची तयार गर्छ । सभामुख चयन भएपनि दलहरूले नाम नदिएका कारण समिति बन्न सकेको थिएन ।

समितिमा कांग्रेसका विन्दुकुमार थापा र नन्दप्रसाद न्यौपाने, एमालेका गोविन्दबहादुर नेपाली र सुधीरकुमार पौडेल, माओवादीका फडिन्द्र देवकोटा र सुशीला सिंखडा तथा राप्रपाकी बिन्दु अधिकारी पहाडी सदस्य छन् । समितिको अध्यक्ष सभामुख हुनेछन् भने उपाध्यक्षमा उपसभामुख तथा पदेन सदस्यमा कानून मन्त्री छन् ।

प्रदेशसभाको काम आन्तरिक कामको निर्णय गर्ने अधिकार उक्त समितिलाई रहन्छ । कार्यव्यवस्था समिति बनेपनि अन्य संसदीय समिति भने अझै गठन भएको छैन । दलहरूसँग समितिमा रहने सदस्य र सभापतिको नाम मागेको सभामुख कृष्ण धितालले जानकारी दिए ।

तर दलहरूले नाम दिएका छैनन् । यहाँ विधायन समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति र प्रदेश मामिला समिति छन् । श्रोतका अनुसार सत्तारुढ दलबीच मन्त्रालयमा भागबण्डा नमिलेपछि समितिको सभापतिमा दाबी बढी छ । माओवादीले कम्तीमा २ समिति मागेको छ भने एमालेमा पनि आकांक्षी धेरै भएका कारण व्यवस्थापनमा समस्या छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *