टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने, को-को छन् प्लेइङ ११ मा ?

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल पहिलो पटक लगातार चारै खेल जित्ने सोचमा हुनेछ । स्कटल्यान्ड भने अन्तिम खेलमा जितका साथ लिग-२ अन्त्य गर्ने मनसायका साथ मैदानमा उत्रनेछ । २०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भूमिमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्ने अवसर नेपाललाई रहेको छ ।

आजको खेलमा स्कटल्यान्डलाई पराजित गरेको खण्डमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमै पहिलो पटक लगातार चार खेल जित्नेछ भने अर्कोतर्फ विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्यान्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बन्ने अवसर पनि नेपाललाई छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौँ स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तीमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।

अर्कोतर्फ स्कटल्यान्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्डले गत बुधबार नामिबियालाई पराजित गरेसँगै ३ खेल बाँकी रहँदै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्यान्डले स्थान पक्का गरिसकेको छ । स्कटल्यान्डले मंगलबारको नेपालको खेलपछि नै लिग टू ट्रफि प्राप्त गर्नेछ ।

नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =