बालाजु घटनामा कमाण्ड गर्न नसकेका २ डीएसपीलाई कारबाही सिफारिस

फागुन १ गते काठमाडौंको बालाजुमा भएको लुटपाट तथा आगजनिको घटना हुनुमा दुई डीएसपीको लापरबाही देखिएको भन्दै कारबाही सिफारिस भएको छ। प्रहरी प्रधान कार्यालयले बनाएको छानविन समितिले बालाजु र सोह्रखुट्टे बृत्तका डीएसपीलाई कारबाही गर्न सिफारिस गरेको हो।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी मसाउद आलम खाँको नेतृत्वमा ५ सदस्यीय छानविन समिति बनाइएको थियो। समितिले सोमबार प्रतिवेदन बुझाएको समितिका सदस्य समेत रहेका उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय कुमार श्रेष्ठले जानकारी दिए।
बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो।
बालाजुका डीएसपी बिष्ट भने यसअघि नै त्यहाँबाट जिम्मेवारी मुक्त भइसकेका छन्। सोह्रखुट्टेका डीएसपी भने अझै त्यहीँ कार्यरत छन्। उनलाई पनि कारबाही गर्न समितिले सिफारिस गरेको छ।
यातायात मजदुरको आन्दोलनको क्रममा बालाजुमा प्रहरीका दुई वटा गाडी जलाइएको थियो। ४० बढी प्रहरी घाइते भएका थिए। ल्होत्से मलमा पनि लुटपाट भएको थियो।
यो घटनामा प्रहरीको लापरबाही देखिएको भन्दै आलोचना भइरहेको छ। प्रहरीले घटनामा संलग्न ४५ बढीलाई पक्राउ गरिसकेको छ।








