रानी स्वागत द्वार निर्माणमा सरकारी दाउपेच : सम्झौता सकियो, काम सुरु भएन

विराटनगर । नेपालकाे प्रवेश नाकाकाे रूपमा रहेकाे विराटनगरको रानीमा प्रदेश सरकारले निर्माण गर्ने भनेको स्वागत द्वार निर्माणको काम अझै सुरु हुन सकेकाे छैन । आयाेजनाकाे म्याद सकिन लाग्दा अहिले उक्त संरचना कहाँ बनाउने भन्ने विषय नै अन्याेलमा परेको छ । निर्माण सम्पन्न गरिसक्नु पर्ने उक्त आयाेजनाको काम म्याद सकिएको ८ महिना बित्दा पनि निर्माण सुरु भएको छैन । संघ, प्रदेश र स्थानीय तहको बिचमा समन्वय नहुँदा उक्त संरचना निर्माण अन्याेलमा परेकाे हाे ।

स्वागत द्वार र आकाशेपुल निर्माणका लागि २०७७ जेठ २७ गते प्रदेश सरकारअन्तगर्गतकाे सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले ह्याबिटाट आशिषदीप जेभीसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार यो निर्माणको काम २०७९ असार १४ गतेसम्म सकिनु पर्ने थियो । तर, सम्झाैताकै समय सकिएकाे ८ महिना बितिसक्दा पनि अझै उक्त संरचना कहाँ बनाउने भन्ने टुंगाे लागेकाे छैन ।

७ करोड ७६ लाख ४८ हजार लागत अनुमान गरिएकोमा ६ करोड २५ लाख २४ हजारमा ठेक्का सम्झौता भएको थियो । सहरी विकास तथा भवन निर्माण कार्यालयले ठेकेदारलाई १ करोड ३० लाख मोबिलाइजेशन बापतको रकमसमेत भुक्तानी दिइसकेको छ ।

संघीय सरकारकाे बाधा 

करिब ८ महिनाअघि नै निर्माण पूरा हुनुपर्ने आयोजनाको काममा संघीय सरकार मातहतका सरकारी कार्यालयहरू बाधक बनेका छन् । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र उद्योग सङ्गठन मोरङ्गले त्रिपक्षीय लागत साझेदारीमा स्वागतद्वार निर्माण गर्ने भनिएको छ । स्वागतद्वार निर्माणको लागि सरकारी प्रक्रिया अनुसार काम थाल्न लाग्दा गेट र आकाशेपुल दशगजामा पर्ने भनिएपछि त्यसलाई सार्ने भनियो । दशगजामै बनाउने भनिए पनि भन्सारले त्यहाँ बनाउन नमिल्ने भन्दै स्वीकृति दिएन ।

भारततर्फ दशगजामा नै स्वागतद्वार निर्माण गरिसकेको छ । कार्यालयका प्रमुख रुद्रनारायण मिश्रले भन्सार कार्यालयको कारण दशगजा भन्दा १५० मिटर उत्तरतर्फ निर्माण गर्न लागिएको गेट पनि रोकिएको बताए ।

‘दशगजामा निर्माण हुन नसक्ने भनिएपछि १५० मिटर उत्तरमा बनाउन लागिएको थियो,’ उनले भने, ‘त्यहाँ भन्सार कार्यालयले बनाउन नदिएपछि अहिले रोकिएको छ।’

२०७७ मंसिर ८ गतेको निर्णयले करिब १५० मिटर उत्तरमा काम सुरु गर्ने भनिएको थियो । सङ्घीय सरकार मातहतको विराटनगर भन्सार कार्यालयले प्रोटोकल नमिल्ने भन्दै स्वागतद्वार निर्माणमा रोक लगाएपछि निर्माण स्थल नै तीन ठाउँमा सरिसकिएको छ । तीन ठाउँमा निर्माण स्थल सार्दासमेत स्वागत द्वार निर्माणको कामको प्रक्रिया नमिल्दा र स्वीकृत लिन समय लाग्दा निर्माणको काम नै सुरु हुन नसकेको उनले बताए ।

‘सुरुमा नेपाल भारत सीमा क्षेत्रमा नै फ्लाई ओभरसहितको स्वागतद्वार निर्माण गर्ने योजना थियो, उनले भने, दशगजा क्षेत्रमा पर्ने र भन्सार कार्यालय पनि सँगै भएको भन्दै निर्माण रोक लाग्यो ।’

भन्सारले काम रोक्न भन्दै पत्र पठाएपछि काम रोकिएको कार्यालयका इन्जिनियर बिभाष भुरेले बताए । काम नै सुरु भएपछि भन्सारले पत्र पठाएको थियो । भन्सारले काम गर्न नदिएपछि ८ किलोमिटर उत्तरमा द्वार निर्माण गर्ने योजना बनेको छ । महानगरसँगको समन्वयमा गेट निर्माणको काम आईसीपी प्रवेश गर्ने सडक नजिकै छलेन सडकमा नै बनाउने र आकाशेपुल विराटनगरको मुख्य बजार महावीर रोड नजिकै बनाउने सहमति बनेको कार्यालयले जनाएको छ । सहमतिका लागि पटकपटक छलफल गर्दा पनि ६ लेन सडकले तेस्रो स्थानमा बनाउन लागिएको आकाशेपुल र स्वागतद्वारको अनुमति दिएको छैन ।

चुनावपछि सहमति दिने भनिए पनि अहिलेसम्म ६ लेन सडक आयोजना कार्यालयमार्फत सडक विभागले अनुमति नदिएको कार्यालयका निमित्त प्रमुख मिश्र बताउँछन् । यो आयोजना पूरा गर्न प्रदेश १ सरकारको ७५ प्रतिशत, विराटनगर महानगरको २५ प्रतिशत र उद्योग सङ्गठन मोरङको ५ प्रतिशत लागत सहभागिता रहने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *