रात्रि उडानका लागि तयार छ पोखरा, तर कहिलेदेखि उड्छ ?

पोखरा । निर्माण सकिएकै दिनदेखि पोखरामा अन्तर्राष्ट्रिय उडान हुन सक्थ्यो । अन्तर्राष्ट्रिय उडानबाट नै विमानस्थल उद्घाटन गर्ने नागरिक उड्डयन प्राधिकरणको कसरत खेर गयो ।

जनवरी १ मा उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उडान नभएको मात्रै होइन, कहिलेदेखि उडान हुन्छ भन्ने नापनक्सा समेत छैन । विमानस्थलमा फेब्रुअरी २३ देखि रात्रिकालीन उडान भर्ने योजना छ । तर कसले उडान भर्ने भन्ने टुङ्गो छैन ।

रात्रिकालीन उडानको सुरुआत गर्ने भनिएको फेब्रुअरी २३ आउन ३ दिनमात्रै बाँकी छ । क्यानले हालसम्म कुनैपनि एयरलाइन्स कम्पनीलाई रात्रिकालीन उडानको अनुमति दिएको छैन । न उडानको सेड्युल जारी भएको छ । चर्को ब्याजदरमा चर्को मूल्य खर्चेर निर्माण गरिएको विमानस्थलबाट आन्तरिक उडान मात्रै भइरहँदा पोखरेली व्यवसायी मात्रै होइन, सरोकार राख्ने सबै चिन्तित छन् ।

रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानको लागि सेवा सुरु गर्न सबै पूर्वाधार तयार भैसकेको तर उडान भने निश्चित नभएको प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । ‘हामी हाम्रो तर्फबाट वेलइक्युप छौँ । तयार भएर बसेका छौँ । तर सेड्युल आएको छैन,’ उनले भने, ‘त्यसका लागि चाहिने इकुपमेन्ट, डकुमेन्ट र स्रोतहरू पूरा छन् । कति बजे, कसले, कुनदिन उडाउने भन्ने चाहिँ एयरलाइन्सको कोर्टमा छ ।’

नेपालका सबैजसो एयरलाइन्सहरू राती उड्न र अवतरणका लागि सक्षम छन् । तर धेरैले पोखरामा राती उडाउन चासो पनि दिएका छैनन् । हाल पोखरामा बुद्ध, यती, श्री, सौर्य, गुण लगायतका कम्पनीले जहाज उडाउँदै आएका छन् । माघ १ गते यति एयरलाइन्सको विमान दुर्घटनापछि धेरै पर्यटकले होटल बुकिङ रद्द गरेका छन् भने उनीहरूले सुरक्षाको प्रत्याभूति खोजेका छन् । झण्डै डेढ महिनादेखि पोखराबाट जोमसोम, भरतपुर र नेपालगन्जको नियमित उडान रोकिएको छ । यात्रुहरूले हवाई यात्रा रोजेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *