सीईओ धनञ्जय रेग्मीको गुनासो- पर्यटन बोर्डका सदस्य बार्गेनिङ गरेर बस्छन्, मैले काम गर्न पाइनँ

पोखरा । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले बोर्डका सदस्यहरूले आफूलाई काम गर्न नदिएको गुनासो गरेका छन् । पोखरामा पर्यटन मन्त्री समेतको उपस्थितिमा उनले बोर्डका सदस्य हटाउन दबाब दिएका हुन् ।

११ जनाको बोर्ड हुने व्यवस्था छ । ५ जना सरकारी निकाय र ५ जना निजी क्षेत्रले रोजेर पठाएको व्यक्ति हुन्छन् । १ जना कार्यकारी प्रमुख हुन् ।  पर्यटन क्षेत्र बुझेर आफू कार्यकारी प्रमुख भएपनि सोचे अनुसार काम गर्न नपाएको गुनासो रेग्मीको छ ।

  • उनले राखेको धारणा:-

कसरी पर्यटन क्षेत्रलाई लैजानुपर्छ भन्ने मलाई थाहा छ । जब पर्यटन बोर्डमा राजनीतिक भर्ना सुरु भयो उनीहरूले आफैँ पर्यटन क्षेत्र बुझेका छैनन् । उनीहरूको पर्यटन क्षेत्रमा लगानी छैन । म आज खुला बोल्छु । यो जागिर जान्छ भन्ने लोभ छैन । यस्तै भइरह्यो र पर्यटन बोर्डका सदस्य फेरिएनन् भने आफै राजीनामा दिनुपर्ने अवस्थामा छु । 

बोर्डको सदस्यमा एक जना पत्रकार हुनुहुन्छ, उहाँले पर्यटनको ‘प’ पनि बुझ्नु भएको छैन, बैठकमा पनि सहभागी हुनुहुन्न । दोस्रो होटलमा जन्मिनुभएको रे, त्यै भएर पर्यटन व्यवसायी बन्नुभएको छ । तेस्रो राजनीति गर्ने मान्छे हो, लगानी २ रुपैयाँ छैन । कर तिर्नुभएको छैन । यो खालको बोर्ड मेम्बर मसँग छन् । दिनभरी उहाँहरूको चाकडी गरेर बस्नुपर्छ । एउटा माइन्युट लेखेपछि हस्ताक्षरका लागि १० चोटि जानुपर्छ । हस्ताक्षर गर्दैनन्, बार्गेनिङ सुरु गर्न थाल्नुहुन्छ ।

मैले योजना नल्याएको होइन नि । काम गर्नै पाएको छैन, आजित भैसकें । विभिन्न बुकिङका नाममा १३ प्रतिशतसम्म पैसा विदेश जान्छ । यो रोक्न ३ करोड छुट्याएँ । बोर्डका सदस्यहरूले कर्मचारी उचालेर काम गर्न दिएनन् । देशभरीमा कति होटल छन् थाहा छैन । डाटा बनाऊँ भनेर लागेँ, सबै तुहियो । 

यो देशमा खरिद विनियम भन्दा ठूलो केही छ ? हाम्रा साथीहरू कार्यविधि बनाएर काम गरौँ भन्छन् । कार्यकारी प्रमुखले कुनै योजना ल्याए खुट्टा तान्ने काम भयो । प्रबद्र्धनको लागि ७० प्रतिशत बजेट छुट्याऔं भनेर सुझाव दिएँ । १ अर्ब ११ करोडको बजेट बनाउँदा २५ करोड प्रबद्र्धनमा राख्नुभयो, अरू मठ मन्दिरमा हाल्दिनुभयो । 

ऐनले कार्यविधि बनाउने अधिकार दिएको छैन । साह्रै सकस भयो, अन्तर्राष्ट्रिय प्रबद्र्धनको कार्यक्रममा धेरै मरिमेटेँ, नतिजा आएन । मठ मन्दिर बनाएर मात्रै देशको विकास हुन्छ त ? नहुने कामले देशको विकास हुँदैन भनेर मैले पनि रोकिदिएँ । बोर्डको मेम्बर छिटो फेर्नुप-यो । नत्र पर्यटन क्षेत्रको विकास हुन सक्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *