४ वर्षमा सक्नुपर्ने पृथ्वी राजमार्गको काम ३ वर्षमा ५ प्रतिशत मात्र

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लीनदेखि पोखरासम्मको सडकलाई ४ लेनमा विस्तार गर्ने काम भइरहेको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा ४ लेनमा विस्तार गर्नका लागि २०७८ मा सम्झौता भएको हो । तीनवटा खण्ड बनाएर निर्माणको काम भइरहेको छ ।

मुग्लीनदेखि आँवुखैरेनी, आँबुखैरेनीदेखि जामुने र त्यहाँबाट पोखरासम्मको खण्डमा छुट्टाछुट्टै काम चलिरहेको छ । मुग्लीन आँबुखैरेनी खण्डमा काम नै अघि बढेको छैन । बाँकी २ खण्डमा पनि कामको प्रगति निराशाजनक छ । २०८१ सम्म निर्माण सम्पन्न हुनुपर्ने सडकको हालसम्मको प्रगति ५ प्रतिशत मात्र छ ।

सडक निर्माणका लागि छेउमा रहेका विद्युतका पोल र खानेपानी पाइप प्रमुख अवरोधका रूपमा छन् । जसका कारण कोत्रेदेखि पोखरा खण्डको काम सुरु हुनै सकेको छैन । कास्कीकी सांसद विद्या भट्टराईले सडक निर्माणमा भएको ढिलाइले लाखौँ यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भन्दै संसद्बाट सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

‘राजमार्गको अवस्था दयनीय र यात्रुको यात्रा निकै कष्टकर छ । हालसम्मको निर्माण प्रगति सन्तोषजनक छैन,’ उनले भनिन्, ‘लाखौँ यात्रुको जीवनसँग जोडिएको सडक निर्माणलाई द्रुत बनाउनका लागि ध्यानाकर्षण गराउँदछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *