गण्डकी सरकारले दिने १ लाख राशिको कर्मचारी पुरस्कार पंगेनीलाई

पोखरा । गण्डकी प्रदेश सरकारले पाँचौँ स्थापना दिवसको अवसरमा विभिन्न विधामा कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सबैभन्दा ठूलो राशि १ लाख रुपैयाँको पुरस्कार मुख्यमन्त्री कार्यालयकी सचिव मनमाया पंगेनीले पाएकी छिन् ।
उत्कृष्ट निजामतीतर्फ तीन जनालाई ७५ हजार रुपैयाँका दरले सम्मान गरिने छ । उत्कृष्ट पुरस्कार पाउनेमा डिभिजन वन कार्यालय लमजुङमा कार्यरत अधिकृत दसौँ पूर्णेश्वर सुवेदी, यातायात व्यवस्था कार्यालय सवारीका दसौँ तहका अधिकृत डिल्लीराम रिज्याल र मनाङको स्वास्थ्य कार्यालयमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत बाबुराम आचार्य छन् ।
यस्तै, ६ जनालाई ५० हजार राशिको पुरस्कार दिएको छ । प्रदेश संग्राहलयकी करुणा राई, पूर्वाधार विकास कार्यालय मुस्ताङका विवेक सिग्देल, कृषि, ऊर्जा तथा जलश्रोत मन्त्रालयका अनिल सुवेदी, आर्थिक मामिला मन्त्रालयका रामेश्वर ढुंगाना, प्रदेश लोक सेवा आयोगकी विष्णु पोखरेल र प्रदेश सभा सचिवालयका सूर्यबहादुर बानियाँले उक्त पुरस्कार पाएका हुन् ।








