उपत्यकाभित्रै छैन यातायात सुविधा, सास्ती भोग्दै दुवाकोटका स्थानीय

काठमाडौँ । लामो समयदेखि भक्तपुरको दुवाकोट रुटमा चल्दै आएको यातायात सेवा अहिले बन्द भएका छन् । समयमा गाडी नगुडेको भन्दै स्थानीयले विरोध गरेपछि यातायात सेवा बन्द गरेको भक्तपुर मिनिबस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले बताए ।

बरिब एक दशकअघि दुवाकोटमा बस नचल्दा मानिस सानो माइक्रो बसमा यात्रा गरेर रत्नपार्कसम्म पुग्थे । माइक्रोबसमा यात्रु कोचिएर, झुन्डिएर यात्रा गर्नुपर्ने अवस्था थियो ।

बिस्तारै यात्रुको संख्यामा वृद्धि भयो । यात्रुको संख्यामा वृद्धि भएसँगै दुवाकोटमा सार्वजनिक बस गुड्न थाल्यो । बस गुड्यो, तर स्थानीयको यातायात समस्या कम भएन । स्थानीयले बस समयमा नआउने, आए पनि घण्टौँसम्म सल्लाघारीमा स्टप गरेर राख्ने त कहिले बस नै नआउने समस्या भोग्नुपरेको बताउँछन् । महर्जनका अनुसार बस समयमा नपुग्दा स्थानीय आक्रोशित भएर विरोध गरे । त्यसपछि उक्त बसले दिइरहेको यातायात सुविधा बन्द भएको हो ।

उनी भन्छन्‘ त्यहाँ समयमा गाडी पुगेन, गाडी नपुगेपछि त्यहाँका साथीहरूले नचलाऊ भने । त्यसपछि बन्द भयो ।’

उनका अनुसार दुवाकोटमा बस नचलेको १५–२० दिन भइसक्यो । त्यहाँ १३ ओटा सार्वजनिक बस थिए । ती बस कहिल्यै पनि समयमा नगुड्ने, क्षमताभन्दा बढी यात्रु हालेकोले स्थानीयले विरोध गरेका हुन् । बिहान दुवाकोटका धेरै विद्यार्थी बसमा चढेका हुन्थे ।

दुवाकोटको बस नचल्दा आफूहरूलाई कलेज पुग्न समस्या भएको विद्यार्थी सञ्चिता गिरीले बताइन् ।

उनले भनिन्‘, ‘म पहिला त दुवाकोटको बसमा जान्थे, तर गाडीभाडा धेरै खर्च भएपछि अहिले सरसस्वतिखेलको बसमा जान्छु ।’

अहिले यताका स्थानीय बसको सट्टामा माइक्रो चढ्छन् । माइक्रो बसले पनि सल्लाघारीसम्म मात्र सेवा दिन्छ । त्यसपछि सल्लाघारीबाट रत्नपार्क पुग्न फेरि अर्को बस चढ्नु पर्छ । यो समस्या समाधान गर्न भक्तपुर मिनिबस सेवा समिति र स्थानीयबिच वार्ता पनि भएको थियो । वार्तामा अब बसलाई कसरी नियमित रुपमा सञ्चालन गर्ने भन्नेबारे छलफल भएको अध्यक्ष महर्जन बताउँछन् ।

उनले भने, ‘अस्ति मिटिङ भएको थियो । स्थानीयसँग पनि कुरा भएको छ । अब केही दिनमा बस फेरि राम्ररी चल्छ ।’

बस चलाउन अझै दुई, चार दिन लाग्ने उनले बताए । उनले भने, ‘अझै दुई–चार दिन दुःख हुने भयो, यसको लागि म क्षमा माग्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *