अस्तित्व जाेगाउने संघर्षमा ओखलढुंगाको एक पानीघट्ट

काठमाडौँ । ‘पानीघट्ट’ पिठो पिस्नका लागि पानीबाट चलाइने घरेलु यन्त्र हो । नेपालको ग्रामीण क्षेत्रमा पानीघट्टको प्रयोग हुने गर्दछ । अहिले आधुनिक मिल र प्रविधिका कारण पानीघट्ट लोप हुने अवस्थामा पुगिसकेको छ । यद्यपी, अझै कतिपय गाउँमा पानीघट्टको अस्तित्व देख्न सकिन्छ ।

पानीबाट चल्ने भएकोले यस प्रविधिलाई पानीघट्ट भनिएको हो । गाउँघरमा चामल, कोदो, फापर, मकैँ, गहुँ जस्ता अन्न पिस्न पानीघट्टको सहायता लिइन्छ । पानीघट्ट चलाउन अग्लो ठाउँबाट काठको डुँडमार्फत पानीको छाँगो खसालिन्छ । छाँगोले पानीघट्टको मदानीलाई हिर्काएपछि मदानी घुम्छ । मदानी घुम्दासँगै जोडिएको ढुंगाको जाँतो पनि घुम्न थाल्छ । उक्त जाँतोले नै अन्न पिस्छ र पिठो बनाउँछ । अन्न खसाल्न माथि कोठो(सोली) बनाइएको हुन्छ । पानीघट्ट चलाउने व्यक्तिलाई घटारो भनिन्छ ।

ओखलढुङ्गाकाे सिद्धिचरण नगरपालिका–५ का समपट राई एक घटारो हुन् । उनले गाउँघरमा अझै पानीघट्टको प्रयोग भइरहेको बताए । उनका अनुसार हिउँदमा पानीघट्ट २–४ महिना चल्दैन । बर्खामा भने निरन्तर चलिरहन्छ ।

‘हिउँदमा पानीघट्ट २,४ महिना चल्दैन,’ उनले भने ‘अहिले पनि चलेको छैन । अब जेठ, असारदेखि फेरी चल्छ ।’

राईले बर्खाको समयमा पानीघट्ट जेठ, असारबाट मंसिर पुषसम्म चल्ने गरेको बताए । हुन त ओखलढुङ्गामा मिल र आधुनिक प्रविधिको पहुँच पुगिसकेको छ । तर पनि स्थानीय अझै पानीघट्टको प्रयोग गरिरहेका छन् । आधुनिक प्रविधि भित्रिएपछि परम्परागत प्रविधिको रूपमा रहेको पानीघट्टले ओखलढुङ्गामा अझै आफ्नो अस्तित्व कायम राखेको छ ।

राईका अनुसार यहाँका स्थानीय मिल र पानीघट्ट दुवैको प्रयोग गरिरहेका छन् । विगतको तुलनामा भने पानीघट्टको प्रयोग कम भएको छ ।

भन्छन्, ‘पहिले सबैजना पानीघट्ट नै आउँथे । अहिले कोही आउँछन्, कोही आउँदैनन् । आउनेहरू अलि कम आउँछन् ।’

विगतको तुलनामा पानीघट्टको प्रयोगकर्ता कम भएको राईको भनाइ छ । उनका अनुसार उक्त पानीघट्ट उनका पिताले वि.सं २०२८ सालमा बनाइएका थिए । उनका पिता पनि घटारो थिए ।

गाउँभरिका मानिसहरू पिठो पिँध्न त्यही घट्टमा आउँथे । उक्त पानीघट्ट वि.सं २०६२ सालमा बन्द भएर पुनः सञ्चालनमा ल्याइएकाे थियो । रोकिएको पानीघट्ट उनले गतवर्ष देखि चलाउन थालेका हुन् ।

उनले करिब ८० हजार रूपैयाँ लगाएर उक्त पानीघट्ट निर्माण गरेका थिए । निर्माण गर्दा आफ्नै श्रमशक्ति खर्चेको उनले बताए ।

उनले भने, ‘यो पानीघट्ट म आफैँले बनाएको हुँ, पैसा हिसाब गर्दा ८० हजार जति लाग्यो । एक दुई चोटि मान्छे लगाइयो नत्र सबै आफैँले गरेँ ।’ राईले पानीघट्ट सञ्चालन भइरहे पनि नाफा नभएकाे बताए ।

‘के उठ्नु लगानी, ७ बोरा सिमेन्ट र आफूले काम गरेको त उठेको छैन,’ उनले भने ।

अहिले पिठो पिस्ने मात्र होइन, अध्ययनको विषयसमेत बनेको छ पानीघट्ट । अहिलेसम्म याे माैलिक र पुरानाे प्रविधिकाे अस्तित्व कायम रहनु नै हाम्रो लागि खुसीको कुरो हो । अस्तित्व बचाउन सफल भएको पानीघट्टले लगानी उठाउन नसक्दा व्यवसायी अर्थात् घटाराेहरू भने निराश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *