विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास, हालसम्मकै ठूलाे क्षेत्रीय विमास्थल बनाइने

२ अर्ब ४२ करोडको लागत अनुमान

विराटनगर । विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणको शिलान्यास भएको छ । सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नयाँ बन्ने टर्मिनल भवनको शिलान्यास गरेका हुन् ।

विराटगर विमानस्थललाई क्षेत्रीय विमानस्थको रुपमा स्तरोन्नती गर्न नयाँ टर्मिनल भवनको निर्माण शिलान्यास भएको हो ।

विराटनगर विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन काठमाडौँ बाहिरको पोखरा र भैरहवा विमानस्थलको भन्दा ठुलो हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

२ अर्ब ४२ करोडको लागत अनुमान गरिएको टर्मिनल भवनको निर्माण ३ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

हाल १५०० मिटर लम्बाईको धावन मार्ग रहेको विमानस्थलमा एटिआर ७२ जहाज अवतरण हुँदै आएको छ । हालको टर्मिनल भवन साँघुरो रहेको छ ।

यात्रुको सहज यात्राका लागि र भविष्यमा बढ्न सक्ने यात्रु संख्यालाई समेत ध्यान दिएर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, ‘प्रदेश सरकार, विराटनगर महानगरपालिका समेतको साझेदारीमा विराटनगर विमानस्थलमा ए ३२० वा सो सरहको जहाज सञ्चालन हुन सक्ने गरी २५ सय मिटर लामो धावनमार्ग तयार गर्ने गुरुयोजना छ । उक्त गुरुयोजनाअनुसार नै जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको थियो । तर, कोभिड १९ लगायतका कारण भएको स्रोतको अभाव भई जग्गा अधिग्रहण कार्य हाललाई रोकिएको छ ।

प्राधिकरणले मौजुदा जग्गामै भविष्यको चाप धान्ने गरी सुविधा सम्पन्न अत्याधुनिक टर्मिनल भवन निर्माणको कार्य अगाडि बढाइएको प्राधिकरणका विराटनगर प्रमुख रेन्जी शेर्पाले जानकारी दिए ।

‘अहिले रहेको जग्गामा नै २७० मिटर धावनमार्गंको लम्बाई बढाउने गरी निर्माण कार्य अघि बढाइएको छ,’ उनले भने, ‘हाल सञ्चालनमा रहेका बायुयानहरुको उडान अवतरणलाई थप सुरक्षित बनाउने विश्वास गरेका छौँ ।’

यस आयोजनाअन्तर्गत ‘पिक आवर ट्राफिक’मा पनि १ हजार ८ सय यात्रुलाई सेवा दिन सक्ने गरी टर्मिन भवन डिजाइन गरिएको छ । १६ हजार २७७ वर्ग मिटर क्षेत्रमा टर्मिनल भवन निर्माण भइरहेको उनले जानकारी दिए ।

हालको निर्माणअन्तर्गत टर्मिनल भवन, पार्किङ, एक्सेस रोड, पहुँच सडक, ल्यान्डस्केनिङ आदि निर्माणको हुने छ । यो भौतिक पूर्वाधार निर्माणका लागि २ अर्ब ४२ करोड रुपैयाँमा केसी डाँफे जेभीसँग खरिद सम्झौता भएको छ । यो टर्मिनल भवन नेपालमा हालसम्मकै ठूलो ठुलो आन्तरिकतर्फको टर्मिनल भवनको रुपमा विकास हुने छ ।

यस टर्मिनल भवन मुलतः आन्तरिक हवाई यात्रुको लागि डिजाइन गरिए पनि, क्रस–बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर डिजाइन गरिएको जनाइएको छ । यसले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई यात्रुलाई समेत एकै टर्मिनल भवनबाट सुविधा दिन सक्छ ।

भवनको शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालकै ठुलो नर्मिलन भवन निर्माणलाई समयमै सक्नु पर्ने बताए । उनले निर्माण कम्पनीसँग भएको ठेक्का अनुसार आगामी ३ वर्षभित्र तोकिएको समयअघि नै निर्माण सकेर पुरस्कार लिन आग्रह गरे ।

विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले सम्भावनै सम्भावना भएको विराटनगरको महत्वलाई संघीय सरकारले बुझनु पर्ने बताए ।

काठमाडौँबाट भन्दा पनि विराटनगरबाट पर्वतीय उठान सहज हुने भएकोले प्रदेशको राजधानी विराटटनगरबाट पर्वतीय उडानको वातावरण बनाइदिन कोइरालाले संघीय सरकारसँग आग्रह गरे ।

‘अन्तरास्ट्रिय स्तरको विमानस्थल बनाऔँ, उनले भने, विराटनगर नबन्दासम्म अरू जिल्लाको विकास हुन सक्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *