नेपालमै सबैभन्दा बढी वायु प्रदूषण पोखरामा

पोखरा । पोखराको नयाँ बजार स्थित अमेरिकन कर्नरमा राखेको मेसिनले बुधबार बिहान यहाँको प्रदूषण इन्डेक्स ३ सय ५१ देखायो । जुन अत्यधिक खतरनाक मानिन्छ । ‘वायु गुणस्तर सुचकांक जति कम भयो उत्ति राम्रो हो ।

नम्बर जति धेरै भयो, उत्ति वायु प्रदूषण बढी भएको बुझिन्छ । शून्यदेखि ५० सम्मको सुचकांकले मानव स्वास्थ्यमा खासै असर पर्दैन । त्यो भन्दा माथि जानु स्वास्थ्यका लागि हानिकारक हुने र ३ सय भन्दा माथि पुगेमा निकै नै जोखिमयुक्त हुने क्लिन इनर्जी नेपालकी कार्यक्रम संयोजक वर्षा पराजुलीले जानकारी दिइन् ।

पोखराको वायु गुणस्तर कमजोर हुँदा त्यसले फोक्सो, मुटुका बिरामी, वृद्धवृद्धा र बच्चालाई समस्या देखिने भन्दै प्रदूषण घटाउन सुझाव दिइएको छ । गुणस्तर कायम राख्नका लागि सरकारले कुनै पहल गरेको छैन । विज्ञहरूका अनुसार पोखरा उपत्यका कचौरा जस्तो छ । जसका कारण नयाँ हावा आउने र प्रदूषण भरिएको हावा पास हुन निकै मुस्किल हुन्छ । क्लिन इनर्जी नेपाल र त्रिभुवन विश्वविद्यालयले नयाँबजार स्थित अमेरिकन कर्नरमा प्रदूषण मापन गर्न टिएसआई ब्लु स्काई डिभाइस राखेको छ ।

जाडो मौसममा वायु प्रदूषण बढी नै हुने भएपनि पोखराको प्रदूषण भने अत्यधिक बढेको र यो असामान्य रहेको डा. भूपेन्द्र दासले बताए । ‘विन्टर प्रदूषण धेरै हुने समय हो । यो वर्ष विन्टरमा पानी परेन । जति पानी प-यो, प्रदूषण उत्ति घट्छ,’ उनले भने, ‘पोखरामा प्रदूषण बढ्नु पानी नपरेको कारणले मात्रै होइन । धेरै कारणहरू छन् ।’ उनका अनुसार पोखराका केही ठाउँहरूको प्रदूषण नेपालकै सबैभन्दा धेरै देखिएको छ ।

खासगरी बस्ती बाक्लिँदा बन्ने भौतिक संरचना, सवारीको चाप र आगलागी वायु प्रदूषणका प्रमुख कारक हुन् । पोखरामा पनि काठमाडौँ जस्तै वायु प्रदूषण पुगिसकेको छ । ‘अहिले काठमाडौँ भ्याली जस्तै पोखरा भ्यालीको वायु प्रदूषण देखिएको छ । एक ठाउँको रिपोर्ट हेर्दा नेपालको सबैभन्दा बढी प्रदूषण पोखरामा हुन्छ भन्ने देखायो,’ उनी भन्छन्, ‘पोखरामा फोहोरमैला पनि अत्यधिक जलाउँछ । यस्ता फ्याक्टरले प्रदूषण बढी हुन्छ ।’

वायु प्रदूषण बढ्नु भनेको स्वास्थ्यमा ठूलो असर पर्ने उनले बताए । पर्यटकीय क्षेत्रका लागि प्रदूषण निकै असर पर्ने र भिजिविलिटी समेत घटाउने भएकोले जहाज दुर्घटना बढ्न सक्ने संकेत हुने सुनाए । गाडीको चेकजाँच गर्ने र व्यवस्थित सहर निर्माण गरेमात्रै प्रदूषण घट्ने उनीहरूको सुझाव छ । मेयर धनराज आचार्यले प्रदूषण घटाउनकै लागि विभिन्न कानून महानगरले बताएको सुनाए ।

खासगरी वर्कसपहरुलाई व्यवस्थित गर्न अटो भिलेजको अवधारणा अघि बढाइएको उनको भनाई छ । नागरिकहरू पनि सुसूचित हुनुपर्ने र सबै मिलेर मात्रै प्रदूषण घटाउन सकिने आचार्य बताउँछन् । ‘कानूनले रोक्छु भनेर रोकिँदैन । नागरिकको मानसिकतामा परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘सचेतना जगाउने काम हामी गर्छौं । पोखराको सुन्दरता जोगाउन महानगरले कुनै कसर बाँकी राख्दैन ।’ विज्ञहरूले धेरै पहिलेदेखि प्रदूषण कम गर्ने योजना ल्याउन महानगरलाई सुझाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *