गण्डकीका २ स्थानीय तहको केन्द्रमा अझै पुगेन कच्ची सडक, ६१ किलोमिटर ट्रयाक खोल्नुपर्ने

पोखरा । गण्डकीका ८३ स्थानीय तहको केन्द्रसम्म सडक सञ्जाल पुगेको छ । गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन । यी पालिकाका सीमानासम्म पनि सडकले छोएको छैन ।

गण्डकी सरकारका अनुसार ८५ वटै पालिकाका केन्द्रमा सडक पुर्‍याउन ६१ किलोमिटर सडक खन्नुपर्ने भएको छ । कालोपत्रे सडक नपुगेका स्थानीय तहहरू अझै १२ वटा छन् । सरकार गठन भएको वर्ष २४ स्थानीय तहको केन्द्रसम्म मात्रै कालोपत्रे सडक पुगेको दाबी सरकारको छ । तर सरकारले दाबी गरेभन्दा बढी पालिकामा कालोपत्रे सडक पुगिसकेको थियो ।

गण्डकीमा २६ नगरपालिका, १ महानगरपालिका र ५८ वटा गाउँपालिका छन् । कतिपय गाउँपालिकामा समेत कालोपत्रे सडक सञ्जालले छोएको थियो । नगरपालिका र महानगरमा पहिले नै कालोपत्रे सडक पुगेको थियो । सरकारी तथ्याङ्क अनुसार हाल ७३ स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक पुगेको छ ।

अब १ सय ८७ किलोमिटर सडकलाई कालोपत्रे गरे प्रदेशका सबै स्थानीय तहको केन्द्रबाट पोखरासम्म कालोपत्रे सडक पुगेको हुने छ । प्रदेश सरकार अन्तर्गतका हालसम्म ३ सय ५० किलोमिटर निर्वाचन क्षेत्रको सडक कालोपत्रे भएको छ ।

प्रदेश सरकारले ९३ हजार ८ सय १८ वटा खानेपानीका नयाँ धारा जडान गरेको छ भने १ हजार ३ सय २० वटा नयाँ घर बनाएर सीमान्तकृत परिवारलाई हस्तान्तरण गरेको छ । ५७ किलोमिटर तटबन्ध गरेर ३० हजार रोपनी जग्गा उकास गरिएको छ । ती जग्गाहरूमा सरकारले खेतीका लागि भाडामा दिने तयारी गरेको छ ।

२० वटा स्थानीय तहमा औद्योगिक ग्राम स्थापना भएको छ भने ९९.५ प्रतिशत घरमा विद्युत् सुविधा विस्तार भएको दाबी गरिएको छ । पछिल्लो ३ वर्षमा गण्डकीभित्र २ सय १७ मेगावाट बिजुली उत्पादन भएको तथ्याङ्क छ । २०७५/०७६ मा ४ सय ४८.५ मेगावाट बिजुली उत्पादन रहेकोमा हाल ६ सय ६५ मेगावाट पुगेको नीति तथा योजना आयोगले जनाएको छ । सरकारले यो समयमा ३५ हजार काठेपोल विस्थापित गरी स्टील पोल राखेको जनाएको छ ।

सरकार गठन भएपछि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशको कुल ग्राहस्थ उत्पादन ३ खर्व ४० अर्ब रहेकोमा गएको असार मसान्तसम्म ३ खर्व ६४ अर्ब पुगेको छ । गण्डकी प्रदेशवासीको प्रतिव्यक्ति आय १ हजार ४ सय ३७ पुगेको छ । २०७५ मा प्रतिव्यक्ति आय १ हजार ४३ डलर मात्रै थियो । वित्तीय संस्थाहरूले ३ खर्व ५० अर्ब रुपैयाँ निजी क्षेत्रमा लगानी गरेका छन् । पहिले यो तथ्याङ्क १ खर्व ७३ अर्ब मात्रै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *