बैंकको बोझमा व्यवसायी, पोखराबाट संघर्षको उद्घोष

पोखरा । बैंक तथा वित्तीय संस्थाहरूले मनपरी ब्याजदर बढाउने र धम्कीपूर्ण रूपमा कर्जा असुली गर्न थालेको भन्दै पोखराका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् ।

सुरुमा कर्जा प्रवाह गर्दा सस्तोमा दिने र महिनैपिच्छे ब्याज बढाउँदै जाने प्रवृत्ति बैंकले देखाएपछि संघर्षको तयारी गरिएको छ । आफुखुशी ब्याजदर बढाउने बैंक तथा वित्तीय संस्थाहरूको मनोमानी विरुद्ध एकजुट हुने र कर्जा नै नतिर्ने चेतावनी व्यवसायीको छ । उद्योग व्यवसाय र देश नै टाट पल्टिने अवस्थामा समेत बैंक वित्तीय संस्थाहरूले नाफा कमाउनु शोषण भएको बताउँछिन् व्यवसायी जानुका पराजुली ।

‘पहिले कर्जा दिने बेलामा अर्को बैंकबाट पनि तानेर सस्तोमा दिने । अहिले १६ प्रतिशत ब्याजदर पुगिसक्यो,’ उनी भन्छिन्, ‘उद्योगधन्दा टाट पल्टिने अवस्था छ । हामी बैंकको किस्ता कसरी तिर्ने भन्ने चिन्तामा छौँ । बैंकहरु नाफा कमाएर बोनस बाँडिरहेका छन् । यो भनेको एक प्रकारको शोषण हो ।’ आफ्ना सदस्यहरूले दिनहुँ गुनासो गर्न थालेपछि पोखरेली उद्योगी व्यवसायीका छाता संस्था पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घले सङ्घर्ष समिति नै गठन गरेका छन् ।

बैंकका कर्मचारीहरू घरमै गएर परिवारलाई टर्चर दिने र चढिरहेको गाडी समेत खोस्न थालेपछि सङ्घले सक्रियता देखाएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा सङ्घर्ष समितिका संयोजक पवनकुमार प्रजापति बताउँछन् । ‘चढिरहेको गाडी बैंकले लग्यो भनेर साथीहरूले फोन गर्नुभएको छ । हामी यस्तो बेला चुप बस्न सक्दैनौँ,’ उनले भने, ‘यस्तो सङ्कटको घडीमा सहमतिबाट काम गर्ने कि जबरजस्ती गर्ने ? हामी बैंकको व्यवहारप्रति सङ्घर्ष गर्ने तयारीमा छौँ ।’

बैंक तथा वित्तीय संस्थाहरूबाट एकाएक कर्जाको ब्याज बढाउँदा धेरै उद्योगी व्यवसायीहरू मर्कामा परेका र तनावकै कारण आत्महत्या गर्न बाध्य हुनुपरेको गुनासो व्यवसायीहरूको छ । विषम परिस्थितिमा कुनै बैंक तथा वित्तीय संस्थाहरूले कुनै व्यवसायीहरूको धितो लिलामी प्रक्रिया अगाडि बढाए प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइरालाले व्यवसायीहरू उठ्नै नसक्ने अवस्थामा पुगेका बेला बैंक तथा वित्तीय संस्थाहरूको सुदखोर व्यवहार मान्य नहुने बताए ।

‘कर्जा नतिर्ने भनेका छैनौँ । तर यस्तो सङ्कटको बेला केही संयमित बनिदिनुस् भनेका हौँ,’ उनी भन्छन्, ‘हामीले कर्जा नै नतिरे के हुन्छ ? एकतर्फी रूपमा पेलेर हुन्छ ? परिवारलाई बैंकका हाकिम र कर्मचारी गएर टर्चर दिन थालेका छन् ।’ उनले टर्चर दिने क्रम नरोकिए अदालतमा जाने समेत चेतावनी दिए । चर्को ब्याजदर र बजारमा आर्थिक अभाव भएकै कारण कर्जाको तालिका संशोधन गर्नुपर्ने व्यवसायीहरूको माग छ ।

सरकारले राहतका प्याकेज सार्वजनिक गर्नुपर्ने र व्यवसायीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्नुपर्ने उनीहरूले बताए । जनस्तरबाट मात्रै होइन, यस विषयमा संसद्को समेत ध्यानाकर्षण भएको छ । सांसद गणेशमान गुरुङले गण्डकी प्रदेश सभा बैठकमा विशेष समय लिएर बैंक तथा वित्तीय संस्थाले दादागिरी देखाएकाले सरकारको ध्यानाकर्षण गराए ।

पोखराका उद्योगी व्यवसायीहरूले बैंकबाट कति ऋण लिएका छन् भन्ने कुनै तथ्याङ्क सार्वजनिक भएको छैन । तर अधिकांश बैंकको लगानी उद्योग व्यवसायमा रहेको राष्ट्र बैङ्क पोखराले जनाएको छ । भूकम्प र कोरोना सङ्कटपछि उद्योग व्यवसाय शिथिल भएको छ । पर्यटन क्षेत्र झनै सुस्ताएको छ । खास गरी विमान दुर्घटनापछि यहाँ पर्यटकको आगमन निकै कम भएको व्यवसायीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *