स्याङ्जाका कोल्ड स्टोरमा राखिएका सुन्तला कुहिए

पोखरा । जंगलको सुनको रुपमा परिचित सुन्तलाको सिजन लगभग उत्तरार्धमा छ । यो वर्ष स्याङजाबाट मात्रै २२ हजार २ सय ७५ टन सुन्तला उत्पादन भएको छ । एकै वर्ष १ अर्व ५५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

त्यसमध्ये १ अर्व १ करोडको सुन्तला बिक्री भइसकेको छ । बाँकी सुन्तला चिस्यान केन्द्रमा राखिएकोमा कुहिएर फाल्नुपरेको गुनासो किसानले गरेका छन् । पुतलीबजार ११ मा रहेको कोल्ड स्टोरमा १२ हजार टन क्षमता भएकोमा १ सय २६ टन सुन्तला राखेका थिए । ६४ टन सुन्तला कुहिएर फालिएको छ ।

फेदीखोलाको कोल्ड रुममा १० टन राखेकोमा ६ टन बिग्रिएको छ । कृषि उपज केन्द्रमा राखिएको ५ टनमध्ये २ टन विग्रिएको छ । जिल्लाभरिबाट २ सय ९३ टन सुन्तला विग्रिएर नष्ट भएको प्रदेश सांसद सुधिर पौडेलले जानकारी दिए ।

स्याङजामा ३ वटा कोल्ड स्टोर र ७ वटा कोल्ड रुम छन् । १ हजार ९ सय ५० हेक्टरमा सुन्तला खेती हुन्छ । यो वर्ष १ हजार ३ सय ५० हेक्टरमा मात्रै सुन्तला खेती भएको थियो । १ कोल्ड स्टोर र ३ कोल्ड रुममा सुन्तला राखिएको थियो ।

४३ लाख २० हजार रुपैयाँ किसानलाई क्षति भएको उनले सुनाए । ‘सुन्तलाको क्षतिपुर्ति कहाँबाट हुन्छ ? यसको क्षतिपुर्तिका लागि गण्डकी सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भने, ‘किसानको उद्धार सरकारले गरोस् ।’

किसानलाई कृषिमा आकर्षित गर्नका लागि क्षति न्यूनिकरणको योजना ल्याउन उनको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *