किसानले राखे दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाउनुपर्ने माग

पोखरा । कास्कीका किसानले दूधको भाउ बढाउन सरकारसँग माग गरेका छन् । गाई भैँसी पालेर आम्दानी गर्न नसकेको भन्दै मूल्य बढाउन उनीहरूले माग गरेका हुन् ।

दाना, घाँस, औषधी उपचार, गोठ व्यवस्थापन लगायत काममा धेरै खर्च भएको तर दूधको मूल्य निकै कम भएको उनीहरूको गुनासो छ । कास्कीमा क्रियाशील सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघले औपचारिक निर्णय गरेर दूधको मूल्य बढाउन माग गरेको छ ।

उक्त संघसँग ३५ भन्दा बढी सहकारी आबद्ध छन् । किसानले कम्तीमा ७० रुपैयाँ प्रतिलिटर प्राप्त गर्ने गरी मूल्य निर्धारण गर्नुपर्ने उनीहरूको माग छ । संघका अध्यक्ष पुण्यप्रसाद पौडेलले किसानको भेलाबाट ७० रुपैयाँ मूल्य कायम गर्नुपर्ने निर्णय भएको बताए । ‘जिल्लाका प्रमुख किसानहरूलाई बोलाएर भेला राख्यौँ । उनीहरूले महँगी लगायतका कारण देखाएर ७० रुपैयाँ प्रतिलिटर हुनुपर्ने माग राखे,’ उनी भन्छन्, ‘त्यही निर्णय संघले गरेको छ । यो माथिल्लो सरकारसम्म पुर्‍याउँछौं ।’

अहिले किसानले ५६ रुपैयाँ प्रतिलिटर बुझ्दै आएका छन् । बजारले मनपरी दूधको मूल्य तोक्दा किसानलाई नै अप्ठ्यारो परेको पौडेलले सुनाए । अहिले किसानबाट ५६ रुपैयाँमा किनेको दूध सहकारीले प्रशोधन गरेर ८३ रुपैयाँमा बेच्ने गरेको छ । किसानको माग अनुसार मूल्य वृद्धि हुने हो भने अब उपभोक्ताले प्रशोधित दूधका लागि प्रतिलिटर १ सय रुपैयाँ भन्दा बढीमा किन्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *