हुम्ला, जुम्ला र मुगुमा भूकम्पको हल्ला फैलाउने धामीको खोजी जारी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि माघ १५ गते राती स्थानीय नागरिकहरू रातभर घर बाहिरै बसेका थिए । गलत हल्ला फैलिएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले हल्ला फैलाउने व्यक्तिको खोजी कार्य जारी राखेको छ ।

भूकम्प जाने हल्ला हुम्लाका एक धामीले फैलाएको भन्ने बाहिर आएको थियो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीका अनुसार गलत हल्ला फैलाउनेको खोजी कार्य भइरहेको छ । प्रशासनले प्रहरीलाई खोजी कार्यको जिम्मा दिएको र प्रहरीले खोजी गरिरहेको उनले बताए ।

हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरूका स्थानीय आइतबार रातभर घर बाहिरै आगो तापेर बसेका थिए ।

आइतबार राती अबेरबाट कर्णालीका हिमाली जिल्लामा भूकम्प जाने भन्ने हल्ला व्यापक रूपमा फैलिएपछि स्थानीय नागरिकहरू चिसो मौसममा आगो तापेर घर बाहिर बस्न बाध्य भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *