पहिरोको अध्ययन गर्न उपकरण जडान (भिडिओ)

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को फगाम र काभ्रेभिरमा पहिरोको अध्ययन गर्न उपकरण राखिएको छ ।

डाटा लगर, चिस्यान मापन गर्ने यन्त्रको साथै तापक्रम र आर्द्रता नाप्ने सेन्सर र ध्वनि उत्सर्जन गर्ने सेन्सर जडान गरिएको हो । त्रिभुवन विश्वविद्यालयसहित बेलायत, क्यानडा, न्युजिल्यान्डका विभिन्न विद्यालय, भूकम्प प्रविधि राष्ट्रिय समाज, सोसल साइन्स समेतको सहभागितामा भूगर्भ विज्ञान, सामाजिक विज्ञान र मानविकी संकायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धाता सहितको टोलीले उपकरण जडान गरेको हो ।

उपकरण राखिएको स्थानमा पानी कति प¥यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ । यसमा पहिरो जाँदै छ भनेर साइरन नबजे पनि जमिनभित्रको तथ्याङ्कले जमिनको स्लोपको अवस्था जानकारी हुने र सावधानी अपनाउन सहयोग पुग्ने वडा सदस्य दुर्गादत्त सुवेदीले बताए ।

फगाम र काभ्रेभिर पहिरोका हिसाबले जोखिमयुक्त मानिन्छ । म्याग्दी सहित काभ्रे, सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रबिसे, दोलखाको भीमेश्वर नगरपालिकाका १० स्थानमा उपकरण जडान गरेर पहिरोको अध्ययन थालिएको सजक समूहले जनाएको छ ।

जमिनको २० मिटर तलसम्म गाडिएको उपकरणले माटोमा भएको हलचलबारे हरेक १० मिनेटमा कम्प्युटरलाई जानकारी प्रवाह गर्छ । सेन्सर सञ्चालनका लागि ब्याट्री, सौर्य ऊर्जा, साइरन, रिमोट, प्यानिक बटनजस्ता उपकरण राखिएको छ ।

माटोको चिस्यान मापन उपकरण, माटोमुनिको तापक्रम र आर्द्रता मापन गर्ने ‘सेन्सर’ वर्षा मापन उपकरणलाई पाइपभित्रबाट जमिनमुनि गाडिएको छ । ध्वनि उत्सर्जन ‘सेन्सर’लगायतका सम्पूर्ण गतिविधि सोही ठाउँमा जडान गरिएको तार हुँदै कम्युटरसम्म पुग्छ । – रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *