पोखराका मुख्य सहरी सडकमा पार्किङ निषेध

पोखरा । न्यूरोड, चिप्लेढुंगा र नयाँ बजार पोखराको प्रमुख व्यापारिक क्षेत्र हो । यी क्षेत्रमा गाडीको चाप बढेपछि सडक जाम चर्किएको छ ।

सडकमा गाडी आउजाउ गर्न सहज बनाउने भन्दै सडकमा हुने पार्किङ निषेध गरेको छ । पृथ्वीचोक देखि सभागृहचोक हुँदै बीपीचोक र चिप्लेढुंगादेखि नयाँबजार हुँदै पृथ्वीचोकसम्मको सडकमा पार्किङ निषेध गरिएको हो ।

‘यी ठाउँमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको हुँदा यहाँका सडक क्षेत्रमा हुने पार्किङ निषेध गरिएको छ,’ महानगरले सूचना निकाल्दै भनेको छ । आउँदो सोमबारदेखि लागू हुने गरी यहाँ पार्किङ निषेध गरिएको हो ।

पोखराको यातायात व्यवस्थापन समितिको बैठक सोमबार बसेको थियो । बैठकले सडकमा हुने पार्किङलाई निरुत्साहित गर्ने भन्दै मुख्य सहरी सडकमा पार्किङ निषेधको निर्णय गरेको हो । निषेधित क्षेत्रमा पार्किङ गरे कारबाही गर्ने चेतावनी महानगरले दिएको छ ।

महानगरले पार्किङ निषेधको निर्णय गरेपनि वैकल्पिक पार्किङ क्षेत्र भने छुट्टाएको छैन । न्युरोडमा निकै कम गाडी अट्ने ठाउँ छ भने अन्यत्र विकल्प छैन । विकल्प विना पार्किङ निषेधको निर्णय गर्नु अन्याय हुने यस क्षेत्रका व्यवसायीहरूको गुनासो छ ।

मेयर धनराज आचार्यले अण्डरग्राउण्ड पार्किङ र मुख्य सडकका आसपासमा खुला ठाउँ सम्याएर राखिएको बताए । ‘अन्डर ग्राउन्ड पार्किङ र मुख्य सडकका आसपासमा पोखरा महानगरपालिकाद्धारा पार्किङ प्रयोजनका लागि सम्याइएका खालि जग्गाहरूमा पार्किङ गर्न सकिने छ,’ उनले भने, ‘ती स्थानमा पार्किङ बापत महानगरपालिकाले तोकेको शुल्क भन्दा बढी शुल्क लिन पाइने छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *