पालिकाकै बजेटले पक्की बाटो

पोखरा । स्थानीय तहले बजेटको सदुपयोग गर्न नसकेका गुनासा धेरै छन् । टुक्रे योजना निर्माण र बजेट विनियोजनमा वर्षहरू व्यथित भइरहेका छन् । अधिकांश स्थानीय तहले देखिने गरी काम गर्न नसकेको आरोप खेपिरहँदा केही पालिकाले भने ठूला आयोजना पनि आफ्नै बजेटले सञ्चालन गर्न लागेका छन् ।

गोरखाको शहीद लखन गाउँपालिकाले आफ्नै बजेटबाट सडक कालोपत्रे गर्न लागेको छ । प्रदेश सरकारले ढुंगागाडे देखि नामजुङसम्म पीच गरेर छोडेपछि पालिकाले त्यसलाई निरन्तरता दिन लागेको हो । प्रदेश सरकारले पालिका केन्द्र जोड्ने सडक स्तरोन्नति गर्ने निर्णय गरेपनि बिचैमा काम छोडिदियो ।

चालू वर्षको बजेटबाट शहिद लखनले साढे ३ किलोमिटर बाटो पक्की बनाउन लागेको हो । गोरखा सदरमुकामदेखि नामजुङ, घैरुङ हुँदै मनकामना जोड्ने सडकमा साढे ३ किलोमिटर खण्ड पालिकाले नै स्तरोन्नति गर्न लागेको अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए । सडकको ठेक्का सम्झौता समेत भैसकेको छ ।

१४ करोड १६ लाख लागत अनुमान गरिएको आयोजनामा ९ करोड ९८ लाखमा ठेकेदारले सम्झौता गरेका हुन् । ‘६ वर्षसम्म हामीले धेरै कुरा सिक्यौँ । टुक्रे योजनाले तत्काल जनता खुसी भएपनि विकासमा खासै ठूलो प्रभाव देखिएन,’ उनले भने, ‘अब एकीकृत योजनाहरूमा हाम्रो फोकस रहन्छ ।’ संघ सरकारसँग समपूरक बजेटबाट सडक कालोपत्रे गर्न लागिएको उनले बताए ।

पूरा लागतको ५० प्रतिशत रकम संघ सरकारले व्यहोर्छ । उनले उक्त सडकलाई हरेक वर्ष स्तरोन्नति गर्दै केही वर्षभित्रै पूरा गर्ने बताए । उक्त टेण्डरबाट खगीसम्मको सडक कालोपत्रे हुने प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिए । ठेक्का अनुसार २०८१ माघ ३० गते काम सक्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *