आत्महत्या बढ्नुमा बैंकको चर्को ब्याज र भयावह आर्थिक अवस्था जिम्मेवार : व्यवसायी

विराटनगर । इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको आत्मदाह र विराटनगरका व्यवसायी मोहनप्रसाद न्यौपानेको आत्महत्याको विषयमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले सरकारको ध्यानाकर्षण गराएको छ ।

आत्महत्या गर्नुमा बैंकको ब्याज र देशको आर्थिक अवस्था भयावह हुनु प्रमुख कारण रहेको भन्दै उद्योग वाणिज्य महासंघले सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघका प्रदेश अध्यक्ष टीकाराज ढकालले बिहीबार विज्ञप्ति जारी गर्दै दुर्इ दिनअघि सूर्योदय, इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले खुलेआम आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा पोष्ट गरेका यथार्थ वेदनाबाट समेत अहिले व्यवसायको अवस्था के रहेछ भन्ने खुलस्त देखिएको बताएका हुन् ।

यसैगरी विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन न्यौपानेले पनि सुसाइड नोटमा बैंक ब्याजका कारण देखाई आत्महत्या गरेको घटनाले उद्योगीले भोग्नुपरेको समस्या उजागर भएको विज्ञप्तिमा उल्लेख छ ।

देशमा प्रेमप्रसाद आचार्य, मोहन न्यौपानेजस्ता कैयन व्यवसायी पीडामा रहेको र भविष्यमा यस्ता घटना नदोहोरिएला भन्न नसकिने उल्लेख गरिएको छ ।

सरकारको नीतिकै कारण आज व्यवसायीहरुले अनेकौँ समस्या झेल्दै आएको महसूस गरेकोले व्यवसायीहरुलाई आफ्नो कारोबार निर्धक्क रुपमा गर्ने वातावरण बनाउन र भविष्यमा यस्ता घटना दोहरिन नदिन नेपाल सरकारलगायत सम्बन्धित निकायमा महासंघले अनुरोध गरेको छ ।

विज्ञप्तिमार्फत संघले सरकारको नीति, बैंक तथा वित्तीय संस्थाको कर्जा तथा बैंक ब्याजलगायत सम्बन्धमा आफ्नो क्षेत्रबाट समेत आवाज उठाउन प्रदेश नं. १ मा रहेका सम्पूर्ण जिल्ला नगर उद्योग वाणिज्य महासंघले अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *