अदुवाको बीउ किन्दा २ करोड भ्रष्टाचार, गल्याङका पूर्वमेयरविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

पोखरा । अदुवाको बीउ खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व मेयर विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि प्राप्त प्रमाणहरूका आधारमा उनीमाथि मुद्दा दर्ता गरेको हो । पूर्वमेयर भूपराज अधिकारी र तत्कालीन कर्मचारी विरुद्ध अख्तियारीमा उजुरी परेपछि अनुसन्धान थालिएको थियो । चर्को मूल्यमा गुणस्तरहीन बीउ किसानलाई दिएको आरोप उनीमाथि छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरप्रसाद पाण्डे, बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, लेखापाल राजेन्द्र रेग्मी, खरिदार सन्तोष कोइराला र बिउ आपूर्तिकर्ता कम्पनीका प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो । स्पेसिफिकेसनमा उल्लेखित कागजात परीक्षण नै नगरी अदुवाको गुणस्तरहीन बिउ खरिद गरेर भुक्तानी गरेको अख्तियारले जनाएको छ । नगरपालिकाले काठमाडौं तीनकुनेस्थित स्पुक ट्रेडर्स प्रालिबाट २ करोड १४ लाख ५० हजारमा अदुवाको बिउ खरिद गरेको थियो । स्पुकलाई भुक्तानी गरेको रकममध्ये १३ लाख रुपैयाँ तत्कालीन नगर प्रमुख भूपराज अधिकारीले अस्वाभाविक रूपमा दररेट थप गरेर नोक्सान पारेको अख्तियारले बताएको छ । त्यसैले १३ लाख रुपैयाँ भ्रष्टाचार मुद्दामा पूर्वमेयर अधिकारीलाई मात्र विपक्षी बनाइएको छ । बाँकी १ करोड ९७ लाख ७० हजार ४९९ रुपैयाँ भ्रष्टाचारमा मेयर अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, बाली विकास अधिकृत त्रिपाठी, लेखापाल रेग्मी र खरिदार कोइरालालाई विपक्षी बनाइएको छ ।

बीउ आपूर्ति गर्ने प्रतिनिधि शिवप्रसाद न्यौपानेविरुद्ध नगरपालिकालाई हानी नोक्सानी पुर्याएको भन्दै २ करोड १० लाख ७० हजार ४ सय ९९ रुपैयाँ बिगो माग गरेको छ । पूर्व मेयर अधिकारी सहितका कर्मचारीहरू माथि छानबिन सुरु भएका कारण अन्य घटनाहरू पनि सार्वजनिक भएका छन् । बाँदर धपाउने अभियान र दूधको अनुदानमा पनि बदमासी गरेको आरोप स्थानीयको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *