कास्की र स्याङ्जामा मन्त्रीको बहार, बागलुङले खेप्यो गुटको प्रहार

पोखरा । कास्की र बागलुङ यसपालि भाग्यमानी ठहरिए । दुवै जिल्लाबाट ११-११ प्रदेश सांसद छन् । ११ सांसद सहित कास्कीले २ मन्त्री पाउँदा बागलुङमा भने मन्त्री छैनन् । कास्कीका दुवै मन्त्री एउटै निर्वाचन क्षेत्रका छन् । कास्की १ (क) बाट जितेका खगराज अधिकारी मुख्यमन्त्री बन्दा १ (ख) बाट जितेका वेदबहादुर गुरुङ श्याम कृषि, ऊर्जा तथा जलश्रोत मन्त्री बने । दुवै जना एमालेका हुन् । गुरुङ पनि प्रदेशमा अधिकारी निकट मानिन्छन् । एमालेले गण्डकीमा ४ मन्त्रालय पाएको छ ।

कास्की मात्रै होइन, यसपालि स्याङ्जा पनि भाग्यमानी साबित भएको छ । स्याङ्जाबाट पनि २ मन्त्री बनेका छन् । एमाले नेतृ सीता कुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री बनेका हुन् । यसबाहेक तनहुँका हरिबहादुर चुमान, नवलपुरका रोशन गाहा र म्याग्दीका रेसम जुग्जाली मन्त्री बने । यसअघि बागलुङका लीलबहादुर थापाको नाम मन्त्रीको चर्चामा थियो ।

अन्तमा अधिकारीले थापालाई हटाएर बेदलाई मन्त्री बनाए । थापा पृथ्वी सुब्बा गुरुङ निकट मानिन्छन् । ४ मध्ये ३ जना खगराज निकटका हुन् भने गाहालाई दुवै पक्षले आफ्नो दाबी गर्छ । बागलुङले मन्त्री पाउनुपर्नेमा गुटको असर देखिएको एक नेताले बताए । ‘जति हक कास्कीको छ, उत्ति बागलुङको पनि छ । बागलुङमा केन्द्रीय नेता पनि छन्, प्रभाव भएका पनि छन्,’ उनले भने, ‘जवरजस्ती गुटमा धकेलेर राम्रा मान्छेलाई पछि पारियो । यो अन्याय हो ।’

रोशनलाई मन्त्री नबनाउने तयारीका साथ प्रमुख सचेतक बनाइएको थियो । तर चौतर्फी दबाब पनि उनी मन्त्री बने, त्यो पनि आँकलन गरे भन्दा फरक । उनलाई धेरैले अर्थमन्त्रीको रूपमा हेरेका थिए । मङ्गलवार दिउँसो सम्म पनि उनको चर्चा अर्थमै थियो । तर अधिकारीले सुन्दासलाई अर्थमा राखेर रोशनलाई पाँचौँ बरीयतामा झारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *