गण्डकीमा ७ वटा मन्त्रालय बनाउँछौँ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने बताएका छन् । जनताका अपेक्षा अनुसार मन्त्रालयको संख्या घटाएर खर्च कटौती गर्न लागिएको उनले बताए ।

‘विगतमा १२ वटा मन्त्रालय थिए, त्यतिबेलाकाे आवश्यकता के थियाे त्यसैअनुसार बनाइए हाेला,’ उनले भने, ‘तर मन्त्रालयको संख्या कम हुनुपर्छ भन्ने जनताको माग थियो । त्यसो हुँदा हामी ३ वटै दल ७ वटा मन्त्रालय बनाउन सहमत भएका हौँ ।’

मुख्यमन्त्री अधिकारीले सरकारले नयाँ बजेट ल्याउने बारे नसोचेको उनले बताए । चालू योजना, क्रमागत र बहुवर्षिय योजना पूरा गर्ने योजनामा गण्डकी सरकार रहेको उनले बताए ।

‘जनतालाई लाभ हुने पुराना, जिर्ण र रुग्ण बनेका आयोजनाहरु पूरा गर्ने कोसिसमा छौँ,’ उलने भने, ‘त्यसपछि नव प्रवर्तनका योजनाहरु अघि बढाउने छौँ ।’

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी पूरा भई नसकेको मुख्यमन्त्री अधिकारीकाे भनाइ छ ।

तर, गण्डकी सरकारका प्रवक्ता सीता सुन्दासले मन्त्रालयको आजै बेलुकासम्म भागबण्डा मिलाएर सरकार बिस्तार हुन सक्ने बताइन् ।

‘आजै मन्त्रीमण्डल बिस्तारको योजना छ,’ उनले भनिन् ।

अब कुन कुन मन्त्रालय हुन्छ ?

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् (बैठक, प्रशासन र शासकीय सुधार)

२. आर्थिक मन्त्रालय मन्त्रालय (अर्थ, सहकारी, गरिबी निवारण, भूमि व्यवस्था)

३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय (शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समारोह व्यवस्थापन, सञ्चार, प्रदेश सभा मामिला तथा कानुन)

४. भौतिक पूर्वाधार विकास मन्त्रालय (भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात)

५. सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय (शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या)

६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय (पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण, भू–संरक्षण)

७. कृषि तथा जलस्रोत मन्त्रालय (कृषि तथा पशुपंक्षी, ऊर्जा, सिँचाइ र खानेपानी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *