नेपाल टी–२० लिगअन्तर्गत स्पट फिक्सिङमा संलग्न भएको आरोपमा मेहबुब र आदिल पक्राउ

काठमाडौँ । नेपाल टी–२० लिग हुँदा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको स्रोतले जनाएको छ । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर खेलाडी हुन् । अन्सारीले भने अमेरिकाविरुद्धको गत जेठमा भएको खेलबाट राष्ट्रिय टिम खेल्न सुरु गरेका थिए ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीका अधिकृतहरुका अनुसार आलमले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेका थिए । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

गृहमन्त्रीको निर्देशनपछि सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समितिले यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *