प्रचण्डले दुवै सारथिलाई धोका दिए

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसपालिको निर्वाचनमा प्रतिस्पर्धा गर्न गोरखा रोजे । गोरखालीले स्वागत पनि गरे । क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनले तत्कालीन गठबन्धनमा कांग्रेस नेता सुरेन्द्र पाण्डेलाई प्रदेशमा थमथमाए । मुख्यमन्त्री बनाउने आश्वासन पाएका पाण्डे प्रतिनिधि सभामा पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुँदा पनि प्रदेशमा झर्नुपर्दा खुसी नै देखिए ।

प्रचण्ड चुनाव लडेकै क्षेत्रको प्रदेश सभा (ख) का उम्मेदवार थिए पाण्डे । स्थायी बसोबास प्रदेश सभा (क) मा पर्ने भएपनि उनी फड्किएर (ख) मा गएका हुन् । प्रदेश सभा (क) मा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटा उम्मेदवार बने । उनी माओवादीको हँसिया हथौडा चुनाव चिन्हबाटै चुनाव लड्न राजी भए । अन्ततः तत्कालीन गठबन्धनका तीनै जना निर्वाचित भए ।

चुनावका समयमा प्रचण्डले हरेक कार्यक्रममा भन्ने गर्थे, ‘म प्रधानमन्त्री बन्छु । गण्डकीको मुख्यमन्त्री सुरेन्द्र पाण्डे जी बन्नुहुन्छ । शेरबहादुर जी सँग मैले सल्लाह गरिसकेको छु ।’ प्रदेशसभा (क) मा चुनावी प्रचार गर्दा प्रचण्ड भन्थे, ‘फडिन्द्र जी मन्त्री बन्ने पक्का छ । त्यसको जिम्मा म लिन्छु ।’

चुनावपछि पाण्डे प्रचण्डको गठबन्धनमा छैनन् । तत्कालीन चुनावी गठबन्धन विभाजन भएर अहिले एमाले माओवादीको छुट्टै गठबन्धन बनेको छ । मुख्यमन्त्री बन्ने पक्काजस्तै भएका पाण्डे प्रमुख प्रतिपक्षी दलको नेतामा सीमित भए । पाण्डे प्लेन चढेर पोखरा आइपुग्दा केन्द्रमा गठबन्धन टुट्यो । मुख्यमन्त्री बन्ने उनको सपना समाप्त भयो ।

तर एउटै गठबन्धनमा कायम रहेका देवकोटा पनि मन्त्री बन्ने सम्भावनाबाट पर धकेलिएका छन् । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ७ मात्रै मन्त्रालय बनाउने तयारी गरेका छन् । त्यसो हुँदा माओवादीले २ मन्त्रालय मात्रै पाउँछ । २ मन्त्रालय पाउँदा दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् भने अब एकजना मन्त्री बन्नेछन् ।

गोरखाले सभामुख पाइसकेका कारण पनि त्यहाँबाट मन्त्री बन्ने निकै कम सम्भावना रहेको देखाइएको छ । ‘गोरखाले सभामुख पाएको छ । पद धेरै छैन । त्यसैले भेग पनि मिलाउनुपर्छ । एकजना मन्त्री तनहुँले पाएपछि साबिकको धवलागिरिले अर्को मन्त्री पाउनुपर्छ,’ माओवादी श्रोत भन्छ, ‘अर्को मन्त्री म्याग्दीबाट बन्ने सम्भावना छ ।’ रेशम जुग्जाली मन्त्री बन्ने सम्भावना प्रबल देखिएको हो ।

यद्यपि महिलालाई मन्त्री दिनुपर्ने आवाज पनि बलियोसँग पार्टीभित्र उठेको छ । त्यसो हुँदा गोरखाकै सुशीला सिम्खडाले अवसर पाउन सक्छिन् । चुनावका बेला प्रचण्डले मतदाता समक्ष गरेका प्रतिबद्धता बिस्तारै आश्वासनमा मात्रै सीमित भइरहेको छ । उनले गोरखा १ बाट चुनाव लडेका राजेन्द्र बजगाईँ र १ (ख) का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई पनि मन्त्रीको आश्वासन दिएका थिए । १ (क) का उम्मेदवार कृष्ण धितालले मन्त्रीको आश्वासन पाएपनि सभामुख बनेका छन् । मन्त्री बन्ने अधिक सम्भावनामा रहेका देवकोटा मन्त्री नबनाउने देखेपछि आइतबार नै काठमाडौँ लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *