चोर्न गएका भण्डारीको गेटमा अड्किएर गयो ज्यान

काठमाडाैँ । बाँकेको नेपालगञ्ज उपमहानगर-१० मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर मृत्यु भएको छ । स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका-१२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किएर झुण्डिन पुग्दा मृत्यु भएको हो ।

भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अड्किएर झुण्डिँदा मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । भण्डारीको विगतमा पनि आचरणमा ठिक नभएको घर्तीले बताए । उनी सो घरमा चोरी गर्न गएका हुन् कि भन्ने आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाका प्रहरी निरीक्षक चक्रडम्मर पालका अनुसार उनको शरीरमा कुनै चोटपटक छैन । ‘गेट नाघेर भित्र जान खोज्दा गेटको माथिको तिखो भागमा ट्राउजर अड्किएको थियो । ट्राउजरमा झुण्डिएर टाउकाे तलपट्टी भएका कारण उसको मृत्यु भएको देखिन्छ’, डीएसपी घर्तीले भने ।

उनी यसअघि पनि ७ पटक चोरीको आरोपमा पक्राउ परेका थिए। २७ वर्ष पहिलेदेखि चोरीमा संलग्न भण्डारी छुटेपछि पनि चोरीमै संलग्न रहँदै आएका थिए । पक्राउ परेर प्रहरी कार्यालय लगे पनि उनले बयानमा आफन्त कोही नभएको बताउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *