पोखरा विमान दुर्घटना स्थलमा बुद्ध पूजा

पोखरा । माघ १ गते बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटना स्थलमा बुद्ध पूजा गरिएको छ । गुरुङ तमु लामा बौद्ध समाज नेपालले मृतात्माको शान्तिको कामना गर्दै दुर्घटना स्थलमा दीप प्रज्वलन सहित पूजा पाठ गरेको हो । समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा पूजा गरिएको हो ।

दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवङ्गत आत्मालाई शान्ति मिल्ने धार्मिक मान्यता छ । आइतबार दुर्घटना भएको १ साता पूरा भएको छ । एक पटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने भन्दै गुरुङले भने, ‘धेरै विधि, ज्योतिष विज्ञान र तन्त्रले पनि अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्ति शान्ति पूजा नगरे दुर्घटना दोहोरिन सक्ने कल्पना गरेको छ । त्यसैले एक पटक दुर्घटना भएको ठाउँमा फेरि नदोहोरियोस् भनेर पूजा गरेका हौँ ।’

दुर्घटना पछि आसपासका बस्तीमा भय र त्रास बढेको भन्दै पूजा गरेपछि ती डर हटेर जाने विश्वास छ । दीप प्रज्वलन तथा पूजामा दर्जनौँ बौद्ध लामा गुरुहरू, मृतकका आफन्तजन तथा भक्तजनहरू उपस्थित थिए । बौद्ध धर्म अनुसार दुर्घटना भएका ठाउँमा मृतात्माको शान्तिको कामना सहित पूजाआजा तथा दीप प्रज्वलन गर्ने प्रचलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *