जनकपुरका २ युवकको अपहरणपछि भारतमा हत्या

जनकपुरधाम । जनकपुरधामका दुई युवकको अपहरणपछि भारतमा हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको अपहरण पश्चात हत्या भएको हो । उनीहरू दुवै जनाको शव भारत बिहार राज्यको सीतामाढी जिल्लामा पर्ने बेला परिहारमा फेला परेको धनुषाका एसपी विश्वराज खड्काले पुष्टि गरे ।

उनका अनुसार १३ दिनअघि उनीहरू दुवै जना नातेदारको घर (बेला परिहार) गएका थिए । त्यहीँबाट अपहरणमा परे । अपहरणकारीले घरमा फोन गरेर फिरौती मागेपछि मात्र घटना बाहिरिएको उनको भनाइ छ ।

अपहरणकारीले रोहित र विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई फोनमा सुनाएका थिए । आवाज सुनाउँदै ५० लाख रुपैयाँ फिरौती माग गरेको र २० लाखमा डिलसमेत भइसकेको थियो ।

विष्णुका बाजे रामकिशोर साहका अनुसार अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा आउन भनेका थिए । तर पछि सम्पर्कमै आउन छाडे । मंगलबारबाट उनको फोन नै अफ थियाे । आज हत्या भएको अवस्थामा शव फेला पर्याे ।

अपहरणमा परेको विषयमा उनीहरूको परिवारले धनुषा प्रहरीमा पनि जानकारी गराएको थियो । तर धनुषाका एसपी खड्का भन्छन्, ‘ढिलो जानकारी पायौँ । यद्यपि हामीले भारतीय प्रहरीसँग सहकार्य गरी उद्धारको प्रयास गरे पनि सफलता मिल्न सकेन ।’

यो घटनामा नेपाल र भारत दुवैतिरका मानिस संलग्न रहेको हुन सक्ने अनुमान प्रहरीले गरेकाे छ । अहिलेसम्म ५ जना पक्राउ पनि परिसकेको एसपी खड्काले बताए । उनका अनुसार धनुषामा २ जना र भारतमा ३ जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले जनकपुरधाम ८ का कृष्ण पण्डितलाई पक्राउ गरेको स्रोतले जनायो । अन्य एक जनाको नाम खुल्न सकेको छैन । घटनामा अन्य ४ जनाको संलग्नता रहेको र उनीहरूको पनि खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *