जापान मोहले यसरी ठगिए मोरङका ४० युवा

विराटनगर । मोरङको सुनर्सी नगरपालिका वडा नम्बर ९ की कल्पना राजवंशीलाई आफ्नै पर्नेले जापान जान पाइन्छ भनेर सुनाए । उनको परिवार भित्रैका अजय राजवंशी मार्फत उनी जापान जाने मनस्थितिमा पुगिन् । शुरुमा उनलाई जापान जानको लागि ७ लाख तिर्न भनियो । ब्याचलर पढेर बसेकी कल्पनालाई जापान जान पाए प्रशस्त पैसा कमाइहुन्थ्यो भन्ने लाग्यो ।

आफन्तहरुबाट नै जापानमा गार्मेन्ट उद्योगमा मजदुरको रूपमा काम गर्न पाइन्छ भन्ने भएपछि उनी रोजगारीको लागि जापान जान तयार भइन् । उनका श्रीमान् र एक बच्च सहितको परिवारमा जापान जाने कुराले केही सकारात्मक सञ्चार भयो । उनका श्रीमान् गाउँमै पसल गर्छन् । घर खर्च जेनतेन चलेकै छ । जापान जानका लागि ७ लाख तिर्न भनिएकोमा कल्पनाले ४ लाख मात्र तिरेको बताइन् । ‘पैसा लग्दै गर्दा ती व्यक्तिहरूले भाषा पनि सिक्न पर्दैन भने,’ उनले भनिन्, ‘अन्तरवार्ता दिनु पर्दैन भनियो, राम्रो हुन्छ भन्ने लागेरै पैसा तिरेँ ।’

कल्पनाका अनुसार, एप्लाई गर्न भन्दा पहिला १ लाख ५० हजार, त्यसपछि फेरी १ लाख ५० हजार दिनु पर्ने भनियो । यो बेलासम्म मैले ३ लाख दिई सकेकी थिएँ । पछि फेरी बाँकी पैसा २ लाख मागियो । विभिन्न नाममा पैसा माग्दै पैसा जम्मा गर्न दबाब दिएको उनले सुनाइन् । ‘२ लाख मागेका थिए, मैले त्यो बेला पैसा नभएको कारणले १ लाख ३० हजार मात्र दिएँ,’ उनले भनिन्, ‘पैसा जसरी पनि हाल्न दबाब दिएपछि पैसा दिएको थिएँ, पैसा नदिए भिसा क्यान्सिल हुन्छ, त्यसमा १० प्रतिशत कटेर पैसा फिर्ता हुन्छ भनेका थिए ।’

यस्तै जापान लग्ने भनेर ठगिएकी विराटनगर १९ घिनाघाटकी डाफुसरी राजवंशी पनि हुन् । उनलाई पनि जापान पठाइदिने भन्दै दलालले ७ लाख रुपैयाँ माग गरे उनले पनि कतै ऋण काढिन, कतै आफन्तसँग मागिन भएभरको आफ्नो जायजेथा तथा घरमा भएको झोरझार पारेर उनले दलालको खातामा पठाएको सुनाइन् । उनी ३५ वर्षकी भइन् । एसएलसी मात्र पास गरेकी उनलाई ३७ वर्षसम्म जान मिल्ने भन्दै दलालले फकाई रहे । पैसा माग्ने दलालले जापनिज कम्पनीका साहुसँग चिनजान भएको भनेर पैसा मागेको उनी सुनाउँछिन् ।

जापान जान पाइन्छ, पैसा कमाइन्छ भनेर ऋण गरेर पठाएको पैसा अहिले दलालले खाएर फरार भएको उनले सुनाइन् । रकम असुल्ने दलालहरूले उमेरमा पनि बार्गेनिङ गर्ने गरेको उनीहरू सुनाउँछिन् ।

स्नातकोत्तर पढ्दै रंगेलीको एउटा विद्यालयमा पढाउँदै गरेका विवेक राजवंशी पनि दलालको फन्दामा परे । उनले दुई पटकमा १६ लाख जापान जाने नाममा दलालको खातामा पठाए । विवेकका अनुसार, फिरोज कार्कीको नाममा ५ लाख, रञ्जित राजवंशीको नाममा ११ लाख पठाएको हो । उनका जेठान सुनवर्सी ६ का अजय राजवंशी हुन् । जेठानले भनेपछि विश्वास गरेर पैसा पठाएको उनी बताउँछन् । जेठान दलाल मध्येका एक हुन् । जापान जाने बारेमा दलालको फन्दामा पर्नेमा सबै परिवार भित्रका सदस्यहरू पनि छन् । उनीहरू एक अर्कामा आफ्नै बाट ठगिएका व्यक्तिहरू छन् ।

जापान लग्ने भन्दै ४१ जना व्यक्तिहरू ठगिएको भन्दै बिहीबार विराटनगरमा पीडितहरूले पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमा कटहरीका हरि राजवंशी पनि भक्कानिँदै थिए । उनीबाट दलालले १४ लाख माग गरेकोमा ८ लाख बुझाएको उनले बताए । दलालको चंगुमा वैदेशिक रोजगारीमा गएकाहरू पनि फसेका छन् । हरि राजवंशी त्यही मध्येका एक हुन् । ‘म कतारमा काम गर्दै थिएँ,’ उनले भने, ‘नेपाल फर्किएर राम्रो पैसा कमाउन जापान जाने लोभमा आएँ, भएभरको पैसा सबै बुझाएँ, अहिले दलालले हामीलाई फसायो ।’

जापान गएर राम्रो पैसा कमाई हुन्छ भनेर फस्नेमा विराटनगरका मात्र हैन, झापाको कन्काई नगरपालिका वडा नम्बर १ का भवानीप्रसाद अधिकारी पनि परेका छन् । तुरुन्तै जापान जान पाइन्छ भनेर ८ लाख दिएको अधिकारीले बताए ।

चितवन घर बताउने राजेन्द्र अधिकारीले अजय राजवंशीलाई प्रयोग गरेर ठगी गरेको पीडितको भनाई छ । राजेन्द्र अधिकारी भन्ने व्यक्ति अहिले जापान पुगिसकेकोले उसले ठगेकोले रकम फिर्ता गर्न नसक्ने अजयले भन्दै आएको पीडितको भनाई छ । ठगी गर्ने समूहका अजय राजवंशी, कर्णकुमार दवाडी, विद्याकुमारी राजवंशी, रञ्जीतकुमार राजवंशी,(अजय राजवंशीको भाइ हो, विद्या राजवंशी अजयको बहिनी), मिञ्चीरा ताम्राकार, ज्योति घले र फिरोद कार्कीको नाममा रकम पठाउन लगाइएको उनीहरू बताउँछन् । यी सबै खातावालाका नाममा रकम पठाएको भौचर सहित पत्रकार सम्मेलन गरेका पीडितले तत्काल ठगी गर्नेलाई कारबाही गर्नु पर्ने माग राखेका छन् ।

ठगी गर्ने समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवाहरूबाट रकम असुलेका हुन् । जसमध्ये सुनवर्सी ६ का अजय राजवंशीलाई जापान जाने युवा खोजेर पैसा संकलन गर्ने जिम्मा अधिकारीले दिएका थिए । अजय राजवंशीले आफन्तहरूमा यसको जानकारी गराए । यो हल्लामा जापान जान तयार भएका ४१ जना युवामध्ये ४० जना मोरङका छन् । मोरङबाट अजयको सम्पर्कमा भएका ४० जना नै राजवंशी समुदायका छन् । एकजना झापाका भवानीप्रसाद अधिकारी हुन् । उनी आफन्तकोमा आउँदा यो कुरा थाहा पाएका थिए ।

अजय राजवंशी सुनवर्सी नगरपालिकाका मेयरका भान्जा भएको पीडितको भनाई छ। पीडितका अनुसार अजय भन्ने व्यक्ति अहिले काठमाडौँमा बस्दै आएका छन् । शुरुमा पैसा फिर्ता गर्ने बताउँदै आएका अजयले अहिले पैसा फिर्ता नगर्ने बताउन थालेको र सम्पर्कमै नआएको उनीहरूको भनाई छ । पीडितले आफूहरू ठगिएको बारेमा वैदेशिक रोजगार विभाग र जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिइसकेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *