पोखरा विश्वविद्यालयमा तालाबन्दी, भिसीले प्रहरीमा दिए उजुरी

पोखरा । पोखरा विश्वविद्यालयमा विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । विद्यार्थीको हक हितका लागि संघ संगठनले तालाबन्दी गरेका हुन् । अत्यधिक शुल्क बृद्धिको विरोधमा उनीहरूले तालाबन्दी गरेका हुन् ।

हरेक विषय र फ्याकेल्टीमा ५० देखि ५५ प्रतिशत शुल्क बढाइएको नेविसंघका नेता सन्दीप अधिकारीले बताए । पटक पटक जानकारी गराउँदा पनि नमानेपछि तालाबन्दीको अवस्थामा पुगेको उनको भनाइ छ । क्याम्पस प्रशासनले यसबारे अध्ययन गर्नका लागि विद्यार्थी संघ संगठन सम्मिलित अध्ययन समिति बनाएको छ । विद्यार्थीहरूले भने आफ्ना मागलाई सामान्य ठानेर क्याम्पसले झुलाउने प्रयास गरेको बताएका छन् ।

पुस १८ गते पनि उपकुलपतिको कार्यालयमा पुगेर माग राखेको अधिकारीले सुनाए । तर उपकुलपतिले वास्ता नगरेपछि विद्यार्थीहरू तोडफोडमा उत्रिए । क्याम्पस प्रशासनले विद्यार्थीका माग सुन्नुको सट्टा उल्टै जिल्ला प्रहरी र प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ । राजीव भण्डारी, फिरोज सुवेदी र युनिक लम्सालविरुद्ध किटानी दर्ता भएको हो ।

विश्वविद्यालयका रजिस्ट्रार दीपक भण्डारीले विद्यार्थीको अराजकता विरुद्ध उजुरी दिएको बताए । कार्यालयमा तोडफोड, गालीगलौज र धम्की दिइएको आरोपमा उनीहरूलाई उजुरी दिइएको भण्डारीले बताएका छन् । त्यसपछि ५ विद्यार्थी संगठन मिलेर पुस २२ गते ७२ घण्टे अल्टिमेटम सहित विज्ञप्ति दिएका थिए । शुल्क घटाएर जाहेरी फिर्ता लिने सहमति अनुसार ताला खोलेपनि सहमति अनुसारको काम नगरेपछि पुनः पुस २७ देखि तालाबन्दी गरिएको अनेरास्ववियु पोखरा विश्वविद्यालयका अध्यक्ष सन्देश तिमिल्सिनाले जानकारी दिए ।

विश्वविद्यालय र विद्यार्थीबीचको विषय अहिले राजनीतिक पार्टीमा प्रवेश गरेको छ । नेविसंघका नेताहरू विरुद्ध उजुरी परेपछि कांग्रेस प्रदेश कार्यसमिति, जिल्ला र क्षेत्रीय समितिले विज्ञप्ति निकालेर वार्तामार्फत समस्या समाधान गर्न भनिएको छ । माघ ४ देखि विद्यार्थीले नै पठनपाठन नै ठप्प पारेका छन् । सम्बन्धन बन्द गर्नुपर्ने, प्रत्येक प्रदेशमा आंगिक क्याम्पस स्थापना गर्नुपर्ने, विद्यार्थी कल्याणकारी शाखाले विद्यार्थीको हितमा प्रभावकारी काम गर्नुपर्ने र विश्वविद्यालयको निजी बैंकमा भएको सम्पत्ति सार्वजनिक गर्नुपर्ने लगायत माग छ ।

उपकुलपति प्रेमनारायण अर्यालले विद्यार्थीहरूको माग सामान्य रहेपनि तोडफोडमा उत्रनु गैर कानूनी भएको बताए । शुल्क बृद्धि पनि विद्यार्थीकै हितका लागि बढाएको भन्दै उनले भने, ‘७ वर्षदेखि नबढेको शुल्क बढाएको हो । शुल्क नै नबढाए विश्वविद्यालय कसरी चल्छ ?’ पोखरा विश्वविद्यालयमा आजभोलि निरन्तर जस्तै आन्दोलन र तालाबन्दीका घटना भइरहन्छन् । जसका कारण विद्यार्थीको पढाइ रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *