गुरुङ दम्पती : पछिल्लो जहाजको टिकट थियो, १०:३० बजेको जहाजमा सिट खाली हुँदा चढेका थिए

माछापुच्छ्रेको काभ्रे गाउँ शोकमा

पोखरा । काठमाडौँबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको विमान दुर्घटनाले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को काभ्रे गाउँ शोकमा डुबेको छ ।

पोखरामा आज भएको विमान दुर्घटनामा विमानमा सवार काभ्रे गाउँका बेलमान गुरुङ र उनकी धर्मपत्नी सीता गुरुङको निधनले गाउँ शोकमा डुबेको हो ।

बेलमान गत साउनमा मौसमी भिसामा बेलायत गएका थिए । उनी यही पुस २९ गते घर आउन काठमाडौँ आउनेभएपछि श्रीमती सीता सोही दिन काठमाडौँ पुगेकी थिइन् ।

उनीहरू दुवै जना यतीको विमानमार्फत पोखरा आउँदै गरेको र दुर्घटनामा परेको माछापुच्छ्रे–२ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेश आचार्यले बताए । उनका अनुसार बेलमान दम्पतीले बिहान ११ः०० बजेको यतीको अर्को जहाजको टिकट लिए पनि बोर्डिङ पास लिइसकेको र अघिल्लो जहाजमा सिट खाली रहेकाले सोही जहाज चढेका थिए ।

वडाध्यक्ष आचार्यले दुर्घटनाको खबर लगत्तै गाउँ शोकमा डुबेको बताए । उनी भन्छन्, “बेलमान दम्पती गाउँमा सहयोगी थिए । उनीहरू सवार विमान दुर्घटना भएको खबर गाउँमा फैलिएसँगै सबै शोकाकुल छन् ।”

बेलमान बेलायत जानुअघि गाउँमै रेष्टुरेण्ट सञ्चालन गर्थे । उनी विदेशिएपछि सीताले रेष्टुेरेन्ट सञ्चालन गर्दै आएकी थिइन् ।

बेलमानका बुबा इन्द्रबहादुर गुरुङ नेपाली कांग्रेस वडाका पूर्व सभापति छन् । गाउँमा उनको समाजसेवीको पहिचान छ ।

इन्द्रबहादुरको परिवारमा परेको शोकले सबै दुःखित बनेको वडाध्यक्ष आचार्यले बताए । स्व गुरुङका दुई छोरी र एक छोरा छन् । विमान दुर्घटनामा परी माछापुच्छ्रे गाउँपालिका–७ का शिवकुमार गुरुङको पनि निधन भएको बताइएको छ ।

काठमाडौँबाट पोखराका लागि उडेको यतीको एटिआर विमान पोखरा विमानस्थलमा अवतरणको केही मिनेट मात्र बाँकी छँदा विमानस्थल नजिकै सेती नदी खोँचमा दुर्घटनामा परेको थियो ।

विमानमा चालक दलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए । दुर्घटनाको उद्धार कार्य राति अबेरसम्म जारी छ । हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *