थुनामुक्त हुँदै क्रिकेटर सन्दीप लामिछाने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने थुनामुक्त हुन लागेका छन् । नाबालिग बलात्कारको आरोप लागेका उनी २० लाख रुपैयाँ धरौटीमा रिहा हुने भएका हुन् ।

अहिले सन्दीपलाई जिल्ला अदालत काठमाडौँमा ल्याइएको छ । उनलाई तारेख बुझ्न अदालत ल्याइएको हो । अब उनलाई अदालतबाट केन्द्रीय कारागार लगेपछि आवश्यक प्रक्रिया पुर्‍याएर छोडिने भएको छ । उच्च अदालत पाटनले उनलाई बिहीबार नै रिहा गर्न आदेश दिएको थियो । तर धरौटी बुझाउन ढिलो भएकाले प्रक्रिया पुर्‍याएर लामिछाने आजमात्र गर्न लागिएकाे हाे ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका थिए ।

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो ।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले कार्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थिए ।

संयोग त यो छ कि उनी थुनामा परेको दिन कार्तिक १८ गते शुक्रबार थियो भने थुनामुक्त हुने दिन पुस २९ गते पनि शुक्रबार परेका छन् । सन्दीप ७० दिनपछि थुनामुक्त हुने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *