सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काउने क्यानको तयारी


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका हुन् ।
उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्याएर लामिछाने आजमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् ।
राष्ट्रिय टोलीमा फर्काउने तयारी
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै क्यानले यस्तो तयारी थालेको हो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । ‘सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ,’ अध्यक्ष चन्दले भने, ‘सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।’
नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन-२ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ । बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् । ‘मानसिक रूपमा दबाब पर्नु स्वाभाविक हो, दबाबलाई हटाएर खेलमा केन्द्रित भए टोलीको हकदार हुनेछन्,’ चन्दले भने, ‘उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।’
उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । आरोप लागेसँगै क्यानले लामिनेछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।
