७० दिनपछि आज थुनामुक्त हुँदै सन्दीप लामिछाने

काठमाडौँ  । क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै आज  थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै आज थुनामुक्त हुने भएका हुन् ।

उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछाने आजमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका छन् ।

उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

सन्दीपलाई काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियाे । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थिए ।

संयोग त यो छ कि उनी थुनामा परेको दिन कार्तिक १८ गते शुक्रबार थियो भने थुनामुक्त हुने दिन पुस २९ गते पनि शुक्रबार परेका छन् । सन्दीप ७० दिनपछि थुनामुक्त हुने भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *