मुख्यमन्त्री अधिकारीले पत्र पठाएर कांग्रेससँग मागे विश्वासको मत

पोखरा । गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् ।

विहिबार एक पत्र पठाउँदै अधिकारीले औपचारिक रुपमै मत मागेका हुन् । ‘म ३३ सांसदको बहुमत समर्थनबाट मुख्यमन्त्रीमा नियुक्त भएको अवगत नै छ,’ पत्रमा उल्लेख गरिएको छ, ‘मलाई विशवासको मत दिनुहुन् सम्पूर्ण सदस्यहरुमा अनुरोध गर्दै प्रश्ताव गरेको छु ।’ उनले सबै दलका नेताहरुलाई पत्र पठाएर विश्वासको मतका लागि समन्वय गरिदिन आग्रह गरेका छन् ।

अधिकारीले पत्र पठाए लगत्तै एमाले प्रमुख सचेतक रोशन गाहा मगरले पनि सबै दलहरूसँग अनौपचारिक भेट गरेका छन् । ‘२०५१ पछि २०७९ साल केन्द्रमा ऐतिहासिक बनेको छ । संघीय व्यवस्थापछि नयाँ नजिर हो । प्रधानमन्त्रीले सबै माननीयको विश्वास पाउनुभएको छ,’ उनले भने, ‘त्यही नजिरलाई प्रदेशमा पनि स्थापित गर्नुपर्छ भनेका छौँ । कांग्रेसले निर्णय गरेर जवाफ दिन्छौँ भनेको छ ।’

यही विषयमा छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ । मगरले कांग्रेसले विश्वासको मत दिए प्रतिपक्ष विहीन बजेट बनाउने बताएका छन् । ‘प्रतिपक्ष विहीन बजेट बनाउने छौँ, जनचाहाना पूरा गर्न एकजुट भएर लागौँ भनेको छु,’ उनले भने, ‘मलाई विश्वास छ कि कांग्रेसले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिएर सकारात्मक नजिर स्थापित गर्ने छ ।’ कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले भने दलमा छलफल नगरी निर्णयमा पुग्न नसकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *