विराटनगरमा केबल र नेटको तार व्यवस्थापन सुरु

विराटनगर । विराटनगर महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनीहरूले जथाभाबी लत्रिएका तारको व्यवस्थापन गर्न सुरु गरेका छन् । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए ।

गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्य ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

म्याक्स, सुबिसु, वर्ल्डलिंक, भायनेट, नेपाल टेलिकमलगायतका कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्यवस्थापनको सहजीकरण गर्न इन्जिनियर सिंहलाई जिम्मेवारी तोकेको थियो । चिसो मौसम भएका कारण तार व्यवस्थापनमा समय लाग्ने देखिएको उनले बताए ।

‘टेलिकमको पोल नै सार्नुपर्ने अवस्था देखिएको छ, सहजीकरणको जिम्मेवारी पाएका इन्जिनियर सिंहले भने, ‘धेरै भिडभाड हुने भएकाले दिउँसो काम गर्न समस्या छ । जतिसक्दो बिहान नै काम गर्नुपर्ने हुन्छ ।’

महानगरले केबल र नेट प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर दुई पटक बैठक राखेपछि तार व्यवस्थापनको काम अगाडि बढेको छ । यसअघि गत असोज १३ गते पनि महानगरले बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो ।

‘अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ, मेयर कोइरालाले भने, अहिले नै अन्डरग्राउन्ड गर्ने अवस्था नभएकाले कम्तीमा लत्रिएका तारलाई माथि तानेर बाँधियो भने केही व्यवस्थित त हुन्छ ।’

चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने सोमबारको बैठकले निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *